एमालेले तयार पारेको संशोधन प्रस्तावमा आफूले थोरै थपघट गरेर संशोधन प्रस्ताव ल्याएको भन्दै उनले एमालेले प्रस्तावको गलत प्रचार गरेको बताए । उनले संविधान संशोधनको विरोधमा आन्दोलनरत दललाई आन्दोलन छाडेर सहमतिमा आउन अपिलसमेत गरे ।  प्रधानमन्त्री प्रचण्डले भने, “अहिले आन्दोलनरत एमालेले पनि गल्ती महसुस गर्नेछ, सरकारले हिमाल पहाड–तराई जोडेर एकताबद्ध गर्न खोजेको रहेछ, राष्ट्रिय एकता मजबुत गराउन खोजेको रहेछ, तर हामीले त बिखण्डन पो गर्न खोजेका रहेछौं भनेर एमालेले केही समयपछि गल्ती महसुस गर्नेछ ।” उनले दाङको विकासमा आफू कटिबद्ध भएर लाग्ने प्रतिबद्धता व्यक्त गरे ।

माओवादीले दाङलाई केन्द्रमा राखेर विगतका दिनदेखि नै आफ्ना गतिविधि बढाएको स्मरण गराउँदै प्रधानमन्त्री प्रचण्डले दाङको विकासका लागि लमही–कोइलावास सडकको स्तरोन्नति आवश्यक रहेको बताए । भारत भ्रमणको बेला आफूले नेपालको हुलाकी मार्ग निर्माणका लागि सहयोग सम्झौता गरेको भन्दै उनले आफ्नै शासनकालमा लमही–कोइलाबास सडकको स्तरोन्नति हुने विश्वास पनि दिलाए । –रासस