काठमाडौँ / संयुक्त राष्ट्रसङ्घको पहिलो प्रतिनिधिका रुपमा अफ्रिकी मुलुक लिबियामा शान्ति स्थापनाका लागि नेपाली सेना तैनाथ हुने भएको छ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा नेपाली सेनाले शान्ति सैनिकका रुपमा पहिलो डफ्फाअन्तर्गत स्पेसल गार्ड युनिटलाई यसै महिना त्यहाँ खटाउन लागेको हो । प्रमुख सेनानी सुवास थापाको नेतृत्वमा जान लागेको दुई सय ३४ जनाको उक्त डफ्फाले प्रारम्भमा संयुक्त राष्ट्रसङ्घबाट त्यहाँ खटिएका प्रतिनिधि र सामग्रीको सुरक्षा प्रदान गर्नेछ ।
संयुक्त राष्ट्रसङ्घबाट नेपाली सेनाको व्यावसायिक कौशल, अनुशासन, कर्तव्यपरायण र सहासको कदर गर्दै पहिलो शान्ति सेनाका रुपमा लिबिया पठाउन अनुरोध भई आएबमोजिम नेपाली सेनाले त्यहाँ सुविधासम्पन्न घुम्ती अस्पतालको व्यवस्थासहित विशिष्टीकृत सैनिकलाई पठाउन लागेको छ ।
काभ्रेका पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा सुडान र लिबियामा शान्ति स्थापनार्थ खटिजाने सैनिकका लागि सञ्चालन गरिएको तालिम समापन समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले लिबियामा तैनाथ हुन जाने शान्ति सेना पहिलो डफ्फालाई अरू मिसनको जस्तै नेपाल र नेपाली सेनाको छवि उच्च पार्ने काम गर्न निर्देशन दिइन । उनले भनिन –“सरकारको परराष्ट्र नीतिलाई व्यवहारमा प्रभावकारी रुपमा कार्यान्वयन गरी नेपाल र नेपालीको मान, सम्मान र छविलाई विश्व समुदायमा उच्च राख्न नेपाली सेनाबाट भएको योगदानको हामी गौरव गर्दछौँ ।”
राष्ट्रपति भण्डारीले “शान्तिका प्रतिनिधिका रुपमा नेपाली सेना परिचालन हुनु हाम्रो लागि ठूलो सन्तोषको विषय हो” भन्दै “शान्ति स्थापनाजस्तो पवित्र र महान् कार्यमा संलग्न भई विगतमा हाम्रा वीर सैनिकले आर्जेको नेपाल र नेपालीको छविलाई उच्च राख्ने प्रण गर्दै नेपाली सेनाबाट शान्ति स्थापना कार्यमा निष्ठा र इमान्दारीमा प्रदर्शन हुने विश्वास व्यक्त गरिन ।”