धरान/मङ्गोल नेसनल अर्गनाइजेसनले धरानमा प्रथम पूर्वाञ्चल बृहत् मङ्गोल सभा गर्ने भएको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै अर्गनाइजेसनका १६ जिल्लाको संयुक्त आयोजनामा मङ्सिर ११ गते सभा गरिने अर्गनाइजेसनले जनाएको हो । सभामा १६ जिल्लाका प्रतिनिधिहरु सहभागी हुने बताइएको छ ।
गाउँस्तरसम्म पुगेको सङ्गठनको साङ्गठनिक व्यवस्थापन गर्ने उद्देश्यले मङ्गोल सभा गर्न लागिएको जिल्ला अध्यक्ष बलबहादुर दुमी राईले बताए । पार्टीले कार्यक्रमको पूर्वसन्ध्यामा भित्तेलेखन, जिल्ला प्रहरी कार्यालयको सहकार्यमा सडकमा जेब्रा क्रसिङ बनाउने अध्यक्ष राईले बताए । त्यस्तै विभिन्न स्थानको सरसफाइसँगै पार्टीको पर्चा वितरण, धरानको प्रवेशद्वार निर्माण तथा झन्डा सजावट, मञ्च व्यवस्थापनलगायतका कार्यक्रम रहने जिल्ला सचिव अनिल खम्बूले बताए ।
बृहत् सभालाई सम्बोधन गर्न केन्द्रीय कार्यवाहक अध्यक्ष बुद्धलाल मेचे, केन्द्रीय सभाका सचिव वीरलाल बलाहाङ, केन्द्रीय कोषाध्यक्ष दिनेश बान्तवा, प्रवक्ता थमन बुढा मगर, अनुशासन विभाग प्रमुख गणेश चाम्लुङलगायत रहने बताइएको छ ।