तरहरा/ इटहरी–६ स्थित एसओएस बालग्रामको भिलेजमा बसिरहेका पाँचजना बालक सम्पर्कविहीन भए पनि खोजीमा ढिलासुस्ती भएको छ । विद्यालयमा अध्ययनरत् बालकहरु हराएको पाँच दिन बित्दासमेत उनीहरु कहाँ गए भन्ने सुइँकोसमेत पाउन सकिएको छैन ।
नेत्रविक्रम चन्द नेतृत्वको माओवादीले बन्द आह्वान गरेको गत कात्तिक २८ गते दिउँसो बालग्राम भिलेजको पर्खाल नाघेर बाहिरिएका ती बालकहरुको खोजीमा ढिलासुस्ती भएको पाइन्छ ।
प्रहरीले समेत गम्भीरता साथ खोजी नगरेको एसओएस बालग्रामको आरोप छ । बन्दको दिन विद्यालय बन्द भएको मौका छोपी उनीहरु पाँचैजना भागेको एसओएसको निर्देशक गोविन्द मास्केले जनाए ।२००८ मा इटहरी–४ बाट बालग्राम आएका १५ वर्षीय दीपक बस्नेत, इटहरी–४ बाटै २००६ मा बालग्राम छिरेका कक्षा ८ मा अध्ययनरत् १५ वर्षीय देव खत्री, २००६ मा बालग्राममा आएका कक्षा ७ मा अध्ययनरत् १३ वर्षीय सविन बस्नेत, २००६ मै बालग्राम आएका सोलुका कक्षा–७ मा अध्ययनरत् १ वर्षीय सन्तबहादुर बस्नेत र विराटनगर–१५ बाट २००७ मा बालग्राम आएका सन्देश थापा भिलेजको पछिल्लो भागबाट पर्खाल नाघेर सम्पर्कविहीन भएका हुन् । बालग्राम व्यवस्थापनको समेत कमजोरी देखिन्छ । साढे ६ बिघा जमीनमा रहेको सो भिलेजको गेटमै गार्ड बसे पनि उनीहरुले सुइँकोसम्म पाउन सकेनन् । बालग्रामका निर्देशक मास्केले भने कमजोरी स्वीकार गर्न मानेनन् ।
यता इलाका प्रहरी कार्यालयका डीएसपी नरेशराज सुवेदीले भने बालकहरुको खोजी कार्य तीव्र पारिएको बताए । प्रहरीका सबै युनिटलाई हुलियासहित खोज्न भनिएको उनले जनाए । तर अहिलेसम्म उनीहरुको अत्तोपत्तो नभएको सुवेदीले बताए । पारिवारिक वातावरण गुमाएका १ सय ५२ जना विद्यार्थी बालग्राममा अध्ययन गर्छन् । १४ वटा घरमा १४ जना आमाहरुले उनीहरुलाई हुर्काउँदै पढाइरहेका छन् । दातृ निकायको सहयोगमा लामो समयदेखि चलिरहेको बालग्रामबाट हराएका पाँचैजना विद्यार्थी फुटबलका राम्रा खेलाडी भएको बालग्रामले जनाएको छ ।