manlingसङ्खुवासभा / जिल्ला पुनःसंरचनाको विषयलाई लिएर सङ्खुवासभाको मामलिङमा स्थानीयवासी हिंसात्मक आन्दोलनमा ओर्लिएपछि प्रहरीले हस्तक्षेप गरेको छ । जिल्लाको पुनःसंरचना गर्दा मामलिङ गाविसलाई स्थानीय तहको केन्द्र बनाउनु पर्ने माग गर्दै स्थानीय गरेको आन्दोलन हिंसात्मक बनेको थियो । मामलिङवासीले प्रस्तावित नगरपालिकाको केन्द्र गाविसको एखाचोकमै हुनुपर्ने माग राख्दै गरेको आन्दोलन प्रहरीले दबाउन खोज्दा स्थिति तनावपूर्ण भएको हो । स्थानीय बासिन्दाले यसभन्दा अघि जिल्ला प्रशासन कार्यालयमा सोही विषयलाई लिएर अनुरोधपत्र समेत दिएका थिए । बुधबार स्थानीय बासिन्दा आपूmहरूको माग पूरा हुनुपर्ने माग गर्दै चक्काजाम गरेका थिए । स्थानीयको आन्दोलनका कारण सडक अवरुद्ध भएको र यात्रुहरूले कष्ट पाएपछि प्रहरीले चक्काजाम खोल्ने प्रयास गरेको थियो । प्रहरीको प्रयास विफल गराउन स्थानीयले ढुङ्गामुढा प्रहार गरेपछि प्रहरीले हवाई फायरसहित अश्रुग्यास प्रहार गरेको हो । प्रहरीमाथि नै ढुङ्गामुढा भएपछि गोली चलेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिप्रकाका इन्स्पेक्टर प्रमोद कुर्मीले सशस्त्र प्रहरीले ९ राउन्ड हवाई फायरसहित चार सेल अश्रुग्यास प्रहार गरेको बताए । यस्तै प्रहरीले थप चार राउन्ड अश्रुग्यास प्रहार गरेको उनले बताए । उनका अनुसार आन्दोलनकारीको प्रहारबाट प्रहरी जवान लक्ष्मण बस्नेत घाइते भएका छन् । उनको ढाडमा चोट लागेको छ । साथै आन्दोलनकारीको आक्रमणबाट को. १ ख ३८६७ नम्बर सिद्धकाली बस र ना. ५ ख ९० नम्बरको बसमा तोडफोड भएको छ । प्रहरीको प्रयासपछि अहिले स्थिति नियन्त्रणमा आएको उनले बताए । आन्दोलनकारीले धरानबाट आउँदै गरेको यात्रुवाहक बसलाई ढुङ्गाले हानेर शिशा फुटाएपछि प्रहरी र उनीहरुबीच भिडन्त भएको थियो । प्रहरीको लाठी प्रहारबाट नारायण लिंखा, सीताराम भण्डारी, यदुनाथ नेपाल, सुभाष पौडेल, किरण राई लगायत १५ जना घाइते भएको स्थानीय वासिन्दाले बताएका छन् । प्रदर्शनकारीले दुईवटा बसमा आगजनी गरेपछि भीडलाई नियन्त्रणमा लिन केही राउण्ड अश्रुँग्यास प्रहार गरिएको सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी खुमाकान्त आचार्यले जानकारी दिए । मामलिङ सङ्खुवासभाको दक्षिणी सिमानामा धनकुटासँग जोडिएको गाविस हो । जिल्लाको पुनः संरचना गर्दा पूर्वमा रहेको तामाखोप, पश्चिमतर्पm रहेको आँखीभै र मामलिङ गाविसलाई मिलाएर गाउँपालिका बनाउने प्रस्ताव गरिएको थियो । त्यस गाउँपालिकाको केन्द्र मामलिङमा हुनुपर्ने भन्दै स्थानीयले आन्दोलन गरेका हुन् । भीडलाई नियन्त्रणमा लिने क्रममा एकजना प्रहरी र करीब आधा दर्जन प्रदर्शनकारी घाइते भएको प्रजिअ आचार्यले जानकारी दिए । उनका अनुसार साँझसम्म पनि स्थानीयले तोडफोड र नाराबाजी गरेका थिए ।