-
Home
-
अर्थ
-
उद्योग वातावरणमैत्री हुनुपर्नेमा जोड
उद्योग वातावरणमैत्री हुनुपर्नेमा जोड
- मंसिर १, २०७३
- ब्लाष्ट खबर
पोखरा/वातावरणमैत्री विद्यमान कानुनका सम्बन्धमा वातावरण विभागद्वारा मंगलबार पोखरामा आयोजित पश्चिमाञ्चल विकास क्षेत्रस्तरीय अन्तक्र्रियामा वातवरणीय संरक्षणका लागि उद्योग वातावरणमैत्री बन्नुपर्नेमा जोड दिइएको छ ।
कार्यक्रममा नेपालको वातावरणीय कानुनका विविध पक्ष विषयको कार्यपत्र प्रस्तुत गर्दै वातावरण विभागका सिनियर डिभिजनल केमिस्ट शङ्करप्रसाद पौडेलले मुलुकमा वातवरणमैत्री कानुनको व्यवस्था भएपनि कार्यान्वयनको पक्ष फितलो भएको बताए ।
वातावरण मन्त्रालयले वातावरणीय संरक्षणका लागि पहल गर्दै आएको बताउँदै उद्योग व्यवसायीले उद्योग वातावरणमैत्री बनाउनुपर्नेमा जोड दिए ।
उद्योग दर्ताका क्रममा वातावरणमैत्री हुनेगरी सञ्चालन गर्ने भनिएपनि व्यवहारमा त्यो हुन नसकेको बताउँदै पौडेलले विशेष गरी क्रसर उद्योगले कानुनको परिपालन नगर्ने गरेको पाइएको बताए ।
उद्योग प्रतिष्ठानको मापदण्डको पालना एवम् वर्तमान वातावरणीय स्थितिका बारेमा कार्यपत्र प्रस्तुत गर्दै विभागका वातावरण निरीक्षक राजेश्वर पौडेलले वातावरण मन्त्रालयले वातावरण र उद्योग जोगाउन सँगसँगै कार्यक्रम अघि बढाएको बताए ।
उनले २६ चरणमा १३० वटा उद्योग तथा प्रतिष्ठानको स्थलगत अनुगमन तथा निरीक्षण गर्दा सञ्चालित उद्योग नियमानुसार वातावरण मैत्री नपाइएको बताए ।
वातावरणको संरक्षणका लागि उद्योग वातावरणमैत्री बन्नु आवश्यक रहेकोमा उनको जोड थियो । सरोकारवाला मन्त्रालयबीच समन्वय गरी मापदण्ड पूरा गरेका उद्योगलाई प्रमाणपत्र दिनेबारे गृहकार्य भइरहेको उनले जानकारी गराए ।
कास्कीका स्थानीय विकास अधिकारी बलराम ढकालले भावी पुस्तालाई स्वच्छ र स्वस्थ वातावरण प्रदान गर्नेबारे सबैले गम्भीरताका साथ सोच्नु आवश्यक भएको बताए ।
उद्योगी विनोद शर्माले राज्यले वातावरण मिलाएमा उद्योगको कुल मुनाफाको केही प्रतिशत रकम छुट्याएर वातावरण संरक्षणमा खर्च गर्न सकिने धारणा राखे ।
कार्यक्रममा पश्चिमाञ्चल विकास क्षेत्रका विभिन्न उद्योग तथा प्रतिष्ठानका सञ्चालक तथा प्रतिनिधि, सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।
देशका पाँचवटै विकास क्षेत्रमा यस्ता कार्यक्रम सञ्चालन गरेर सरकार र उद्योगीबीचको समन्वयमा वातावरण संरक्षणमा योगदान पु¥याउन पहल गरिने वातावरण विभागले जनाएको छ । रासस