prachanda-1-1-1-2विराटनगर/प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बन्द रहेको विराटनगर जुट मिलको शुक्रवार निरीक्षण गरेका छन् । देशभरको रुग्ण उद्योगहरु कसरी संचालन गर्न सकिन्छ भनेर प्रत्यक्ष अनुगमन र निरीक्षण गरे काम अघि बढाउने उद्देश्यले निरीक्षणमा आएको उनले बताए । अवलोकन भ्रमणका क्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले हेटौंडाको कपडा उद्योग, काठमाडौंको औषधि उद्योगलगायत अन्य सरकारी उद्योगहरुको सञ्चालनको लागि अध्ययन भइरहेको बताए ।

उनले विद्युत आपुर्ती नभएर उद्योग संचालन हुन नसकेको गुनासो तत्काल सम्वोधन गर्ने पनि बताए । उनले भने ‘अहिलेको अवस्थामा यो जुटमिल सञ्चालनका लागि धेरै नौतिपूर्ण छ, र पूर्वाधारको अवस्था पनि निकै जिर्ण रहेकोले के गर्न सकिन्छ छलफल गर्छांै ।’भारतको गोवामा भर्खरै सम्पन्न ‘ब्रिक्स सम्मेलनको बेला भारतीय प्रधानमन्त्री नरेन्द्रसँग पनि जुटमिलको समस्या समाधानकालागि पहल गरेको उहाँको भनाई थियो । उद्योगको विषयमा जानकारी गराउँदै विराटनगर जुटमिलका अध्यक्ष निलहरि काफ्लेले प्रधानमन्त्री समक्ष ज्ञापन पत्र बुझाएका छन्।

ज्ञापनमा उद्योग सञ्चालनका लागि यथासक्य पहल गर्न माग गरिएको छ । जुटमिल अहिले साँवा, ब्याज र ब्याजको स्याजसमेत गरेर ३ अर्ब २० करोड ऋणमा परेको छ । मिलले २०३६ सालदेखि सरकारलाई बुझाउनुपर्ने आयकर, मूल्य अभिवृद्धि कर र बिक्री करसमेत बुझाएको छैन । आन्तरिक राजस्व कार्यालय विराटनगरमा २०३६ सालदेखि २०५७ साल सम्मको आयकर १ करोड ७६ लाख २६ हजार, २०७० साल सम्मको मूल्य अभिवृद्धि कर ८ लाख ८० हजार र आव २०४२ देखि ०५२ सम्मको बिक्री कर २ करोड ४५ लाख ९८ हजार तिर्न बाँकी देखिन्छ ।

राजनीति ट्रयाकमा आएपछि दु्रत आर्थिक विकास विराटनगर/प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्वाञ्चलका उद्योगी व्यवसायिहरुसंग छलफल गरेका छन्। पूर्वाञ्चलको आर्थिक क्षेत्रका समस्या पहिचान र समाधानका उपायहरुको खोजी गर्न मोरङ व्यापार संघले शुक्रवार विराटनगरमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले राजनीतिलाई ट्रयाकमा ल्याएपछि सबै दलको प्रमुख एजेण्डा आर्थिक विकास मात्रै हुने बताएका छन् ।

राजनीतिले सबै बिषयको कमाण्ड गर्ने भएकोले संविधानलाई स्वीकार्य बनाइसकेपछि मात्र स्थीरता सम्भव हुने उनले बताए । उनले भने ‘सबै कुराको कमाण्ड राजनीतिले मात्र गर्छ जवसम्म हामी राजनीतिलाई ट्रयाकमा ल्याउँदैनौं तबसम्म चाहेर पनि विकास अघि बढ्न सक्दैन ।’ राजनीतिक ठाउँमा नहुँदा बन्द हड्ताल, नाकाबन्दी जस्ता अनेकौं उल्झनहरु आइरहने र त्यसले उद्योग व्यवसाय तथा लगानीको अनुकुल वातावरण तयार पार्न नसकिने बताए । उनले भने ‘पहिले राजनीतिक पूर्वाधार तयार गरौं त्यसपछि विकास पूर्वाधार तिब्र गतिमा अघि बढ्नेमा कुनै शंका छैन ।’

उहाँले भारतको चीनको विकासलाई आधार बनाएर देशको तिब्र विकास सम्भव रहेको र त्यसकालागि त्रिदेशीय साझेदारीको प्रस्तावमा दुवै देशका राष्ट्र प्रमुखहरु सहमत देखिएकोले सकारात्मक वातावरण बन्दै गएको जिकिर गरे । पछिल्लो समय भारत र चीन दुवै मुलुकसंग सकारात्मक सम्वन्ध विकास हुँदै गएको टिप्पण गर्नुभएका प्रधानमन्त्रीले सम्वन्ध सुधार भएको कुरा व्यवहारबाट प्रमाणित हुनु पर्ने बताए। राजनीति र आर्थिक गतिविधिमा पूर्वाञ्चलले अग्रणी भूमिका खेलेको स्मरण गर्दै उहाँले आफु पहिलो पटक प्रधानमन्त्री हुँदा विराटनगरकालागि सकेको सहयोग गरेको दावी गरे। आगामी दिनमा पनि विराटनगरले अगाडि सारेको आर्थिक विकासकालागि आवश्यक सुझावहरुलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता व्यक्त गरे।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघका उपाध्यक्ष किशोर प्रधाने पूर्वाञ्चल र पुरै देशको विकासको आधार मानिएको रानी किमाथांका सडक र विशेष आर्थिक क्षेत्रको काम सम्पन्न गर्नु आवश्यक रहेको बताउनुभयो । उहाँले कृषिको पकेट क्षेत्र विस्तार गरी उत्पादन वृद्धि गर्ने योजना अघि बढाउन पनि सरकारलाई सुझाव दिनुभयो । उहाँले बनको वैज्ञानिक व्यवस्थापन मार्फत खेर गइरहेको स्रोतको उपयोग गर्नुपर्ने र भ्रष्टाचार नियन्त्रणमा सुन्य सहनशिलताको नीति अपनाई सार्वजनिक नीजि सझेदारी मार्फत सरकार अघि बढ्न आवश्यक रहेको सुझाव दिनुभयो । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डी ढकाल पर्यटन क्षेत्रलाई प्रोत्साहन गर्न लगानीमा सहुलियत दिनु पर्ने बताउनुभयो । उहाँले सफ्ट लोन मार्फत पर्यटनमा आकर्षण बढाउँदै रोजगारीको नयाँ क्षेत्र विकास गर्न जोड दिनुभयो । कार्यक्रममा निमित्त मुख्य सचिव टंकमणी शर्माले पनि कार्यक्रमको दौरानमा उठेका प्रश्नहरुको जवाफ दिनुभएको थियो । कार्यक्रममा संघका अध्यक्ष पवन कुमार सारडाले उद्योगी व्यवसायिहरुको तर्फबाट पूर्वाञ्चलका उद्योग क्षेत्रमा देखिएका समस्या र समाधानका उपायहरु सुझाइएको विवरण प्रस्तुत गर्नुभएको थियो ।