काठमाडौं / अमेरिकी राष्ट्रपति निर्वाचनमा एक चिनियाँ बाँदरले गरेको भविष्यवाणी मिलेको छ । कात्तिक १८ गते आएको समाचारअनुसार चीनको भविष्यवक्ताको राजा भनेर चिनिने उक्त बाँदरले अमेरिकी निर्वाचनमा डोनाल्ड ट्रम्पको विजय हुने संकेत गरेको थियो । जून ठ्याक्कै मिलेको छ ।
ट्रम्प डेमोक्रेट उम्मेदवार हिलारी क्लिन्टनलाई हराउँदै बुधबार अमेरिकाको ४५ औं राष्ट्रपति निर्वा्चित भएका छन् । चीनको पर्यटकीय पार्क प्रशासनलाई उद्धृत गर्र्दै एक हप्ताअघि आएको भविष्यवाणीको समाचारमा गेडा नामको बाँदरले ट्रम्प जित्ने भनेको थियो । यसअघि युरोपियन फुटबल च्याम्पियनसिपमा कुन देशले जित हात पार्छ भनि सोधिएको प्रसङ्गमा उक्त बाँदरले दिएको भविष्यवाणी नै सही ठहरिएको थियो । गेडाको अर्थ स्थानीय भाषामा मनोरञ्जन भएको बताइए पनि उक्त अलौकिक जनावरले सन् २०१० को विश्व कप फुटबलका धेरै प्रतिस्पर्धामा को विजयी हुन्छन् भनेर सोधिएको प्रश्नमा सही विजेता छान्न सफल भएको थियो ।
पहेँलो सर्टमा सिङ्गारिएको उक्त भविष्यवक्ता बानरराजलाई दुई वटा केराका टुक्राहरूलाई अमेरिकी राष्ट्रपतिमा प्रतिस्पर्धामा रहेका डोनाल्ड ट्रम्प र हिलारी क्लिन्टनको प्रतीकका रुपमा राखिएको थियो र उक्त बादरले दुई टुक्रामध्ये ट्रम्पको प्रतीक मानिएको केराको टुक्रालाई उठाएर निर्णय दिएको थियो ।
बाँदरले निर्णय दिनुभन्दा पहिले केहीबेर ध्यानपूर्वक केराका टुक्रा नजिक बसेको र ट्रम्पको प्रतीक बनाई राखिएको केराको टुक्रालाई उचालेर भविष्यवाणी गरेको जानकारी सियाङ हु इकोलोजिकल टुरिजम पार्कले आफ्नो वेबसाइटमार्फत विज्ञप्ति जारी गरेर दिएको थियो ।






























