धरान/नेपाल आयल निगमको विराटनगर क्षेत्रीय कार्यालयका विवादास्पद प्रमुख दिनेश यादवले अख्तियारको दुरुपयोग गर्दै एक कर्मचारीलाई करारमा नियुक्त गरेका छन् । क्षेत्रीय प्रमुखको अधिकार क्षेत्रभित्र नपर्ने पदमा नियुक्ति दिएर उनले निगमको झापास्थित चारआली डिपोमा पठाएका हुन् । मोरङको बेलबारी घर भएकी इन्दिरा दाहाललाई यादवले वरिष्ठ सहायक ५ औँ तहमा एक वर्षका लागि करार सेवामा नियुक्त गरेको पत्र दिएका छन् । यसको जानकारी चारआलीस्थित डिपोमा पनि पठाएका छन् ।
निगमको कर्मचारी प्रशासन विनियमावली, २०६३ अनुसार सहायक तथा वरिष्ठ सहायक कुनै पनि पदमा करार सेवामा नियुक्ति गर्न पाइँदैन । नियमावलीले श्रेणीविहीन पदमा मात्र करार सेवामा नियुक्त गर्न सकिने व्यवस्था गरेको छ । त्यसका लागि पनि पदपूर्ति समिति गठन गरेर खुल्ला तथा आन्तरिक परीक्षाको विधिमार्पmत् नियुक्ति गर्नुपर्ने बाध्यकारी व्यवस्था छ । कानूनविपरीत नियुक्त गरी हाजिर गर्न दाहाललाई झापा पठाए पनि चारआली डिपोले उनलाई हाजिर नगराई फर्काइदिएको छ । कानूनविपरीत नियुक्ति भएको भन्दै चारआलीले दाहाललाई ‘नियुक्ति दिने निकायमै सम्पर्क गर्नू’ भन्दै फिर्ता पठाएको हो ।
निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काको निर्देशनमा यादवले दाहाललाई करार सेवामा नियुक्त गरेका हुन् । निगममा क्रियाशील आधिकारिक ट्रेड युनियन तथा अन्य सबै सङ्घ–सङ्गठनहरुले यस विषयमा प्रश्न उठाएका छन् । कर्मचारी सङ्गठनहरुले करार सेवामा भएको नियुक्तिको विरोध गरेपछि यादवले कार्यकारी निर्देशकले नियुक्त गर्न भनेपछि आपूmले निर्णय गरेको बताएका छन् । उनले कार्यकारी निर्देशकले यस सम्बन्धमा पठाएको पत्र आपूmसँग सुरक्षित रहेको दावी पनि गरेका छन् । यादवले अन्य दुई कर्मचारीलाई विराटनगरस्थित कार्यालयमै नियुक्त गरेका छन् ।
तीमध्ये एकजना १४ वर्षका बालकलाई दैनिक ज्यालादारी पदमा नियमित हाजिर गराइरहेको पाइएको छ । यस विषयमा कर्मचारीहरुले पटकपटक विरोध जनाए पनि यादवले कसैका कुरा नसुनेको कर्मचारीहरु बताउँछन् । यादवको मनोमानीविरुद्ध रुष्ट बनेका कर्मचारीहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गर्ने तयारी थालेका छन् । निगमको केन्द्रीय कार्यालयका प्रशासन प्रमुख विशाल ओझाले सहायक पदभन्दा माथि कुनै पनि पदमा नियुक्ति गर्न नपाइने बताए । क्षेत्रीय डिपो विराटनगरले त्यसरी नियुक्त गरेको औपचारिक जानकारी केन्द्रीय कार्यालयलाई नभएको र त्यसरी नियुक्ति गरिएको भए नियमविपरीत हुने ओझाले बताए । विगतदेखि नै विवादास्पद छवि बनाएका यादव निगमभित्र भ्रष्ट कर्मचारीका रुपमा परिचित छन् । विगतमा कानून व्यवसायीका रुपमा काम गरेका उनी त्यही कानूनी प्रावधानको जानकारीका आधारमा भ्रष्टाचारलाई संस्थागत गर्न खप्पिस छन् । उनी निगमको अमलेखगञ्जस्थित क्षेत्रीय डिपोमा बस्दा अनियमितता गरी २२ जनाको जागिर जोखिममा पारेका थिए तर उनी आपूm भने उम्किन सफल भएका थिए । पछि भैरहवामा रहँदा पनि उनले कयौँ ट्याङ्कर इन्धन बाटैमा बिक्री गरेको प्रमाण फेला परेको थियो ।
त्यस काण्डमा थुप्रै कर्मचारी निलम्बनसहित कारवाहीमा परेका थिए । यादव विराटनगर आएपछि निगमको ‘टार्गेट लस’ पनि अधिक बढेको बताइएको छ । विगत तीन वर्षयता ४० प्रतिशत रहेको ‘टार्गेट लस’ यो तीन महिनामा बढेर ५७ प्रतिशत पुगेको प्राविधिक पक्षले जानकारी दिएको छ । यसबाट पनि कर्मचारीहरु आत्तिएका छन् । यो घाटा ३ करोडभन्दा बढी रहेको र त्यसमा यादवको संलग्नता देखिएको बताइन्छ ।