वासिङ्टन डिसी/पूर्व राष्ट्रपति डा रामवरण यादवले आफू क्यान्सरको सङ्क्रमणबाट मुक्त भएको भन्दै आफ्नो उपचारमा संलग्न सबैलाई धन्यवाद ज्ञापन गरेका छन् । आइतबार रासससँगको संक्षिप्त कुराकानीको क्रममा डा यादवले भने, “मेरो उपचारमा संलग्न चिकित्सक, सहयोग गर्ने नेपाल सरकारका निकाय, अमेरिकास्थित नेपाली दूतावास र अमेरिकामा रहेका नेपाली समुदायको सद्भावको कारणले मेरो रोग निराकरण भएको छ ।” अमेरिकाको मिचिगनमा रहेको हेनरी फोर्ड अस्पतालमा गत सेप्टेम्बरदेखि उपचारका लागि भर्ना भएका यादवको डा मेननको नेतृत्वमा रहेको चार सदस्यीय चिकित्सकको टोलीले रोवटिक सर्जरी विधि अपनाएर उनको प्रोस्टेटको शल्यक्रिया गरिएको थियो । स्थानीय समय अनुसार आज साँझ नेपाल फर्किन लाग्नुभएका यादवले शल्यक्रियापश्चात् सोही अस्पतालको अतिथि गृहमा आराम गरिरहेका थिए । “उपचारको नियमित चेकजाँचको लागि ५/६ महिना पछि फेरि आउन चिकित्सकले भन्नुभएको छ, तर नियमित व्यायाम र सन्तुलित आहारले मेरो स्वास्थ्य सवल बन्ने विश्वास लिएको छु”– डा यादवले भने । कुराकानीको क्रममा पूर्व राष्ट्रपति डा यादवले भने, “म नेपालीको महान् चाड तिहार, छठ र नेपाल संवत्को अवसरमा सबै नेपालीमा एकता मेलमिलाप र सद्भाव कायम गर्दे समृद्ध नेपाल निर्माणमा योगदान पु¥याउन आफ्नो स्थानबाट सहयोग गर्न अपिल गर्दछु ।” रासस