
भक्तपुर / नयाँ शक्ति पार्टी नेपालका संयोजक डा.बाबुराम भट्टराईले सत्ता र कुर्सी टिकाउन प्रधानमन्त्री प्रचण्डले भारतसँग राष्ट्रघाती सम्झौता गरेको आरोप लगाएका छन् ।
पार्टीको भक्तपुर जिल्ला परिषद्ले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा भट्टराईले भने, ‘भारतसँग भएको २५ बुँदे सम्झौता देशको हितविपरीत छ ।’ भारतसँग सम्झौता भएको दिन आपूmलाई निन्द्रा नलागेको चर्चा गर्दै उनले भने, ‘प्रधानमन्त्रीले भारत भ्रमणमा २५ बुँदे सहमति गरी सार्वजनिक गर्दा मलाई रातभर निन्द्रा लागेन, प्रधानमन्त्रीले भारतसँग गरेको राष्ट्रघाती सम्झौताले मलाई पिरोलिरहेको छ ।’ सत्ता र कुर्सी टिकाउन विदेशीसँग सम्झौता गर्नुपर्ने अवस्था आइरहेमा देश विदेशीको गम्भीर कुचक्रमा पर्ने उनको चेतावनी थियो ।
उनले यस्तो प्रवृत्तिको अन्त्य गर्न संविधान संशोधन गरेर कार्यकारी राष्ट्रपतिको व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन् । डा.भट्टराईले भने, ‘पाँच वर्षसम्म स्थायी सरकार भएमा विदेशीले चलखेल गर्न सक्दैन, देश विकास र समृद्धितर्पm अगाडि बढ्छ ।’ प्रचण्डले भारतसँग राष्ट्रिय हितविपरीत सम्झौता गर्दा पनि अरु दलले त्यसविरुद्ध बोल्न नसकेको विचार राख्दै उनले भने, ‘प्रधानमन्त्रीले भारतसँग राष्ट्रघाती सम्झौता गर्दा पनि अरु दलले विरोध गर्न सकेका छ्रैनन् । त्यसका विरुद्ध म बोलिरहँदा मलाई उल्टै भारत परस्त भएको आरोप लगाइरहेका छन् ।’
डा.भट्टराईले भारतसँग भएको २५ बुँदे सहमति गम्भीर भएर अध्ययन गर्न आम नेपाली नागरिकलाई आग्रह गरेका छन् । सम्झौतामा भएका बुँदामध्ये ६, १०, ११, १२, १३, १४ र २० बुँदा राष्ट्रिय हितविपरीत भएको जिकीर गर्दै उनले नेपाललाई भुटानीकरण गर्न प्रधानमन्त्रीले सहमति जनाएको आरोप लगाए । ‘पहिला भुटानको परराष्ट्र नीति पनि भारतले आफ्नो मातहतमा ल्याएर भुटानलाई प्रयोग ग¥यो’, उनले भने, ‘अहिले भारतले त्यही नीतिअनुरुप नेपालसँग सम्झौता गरायो, प्रधानमन्त्रीले गरेको सम्झौताले अब परराष्ट्र नीतिमा नेपाल स्वतन्त्र हुन सक्दैन ।’
भारत र पाकिस्तानमा देखिएको द्वन्द्वको परिस्थितिमा अब नेपालले आफ्नो स्वतन्त्र विचार कसरी राख्छ भन्ने प्रश्न गर्दै उनले मुलुकमा जनतालाई ‘क्रान्तिकारी हुँ’ भनेर भ्रम पैmलाउँदै नेपाललाई भुटान बनाउने षड्यन्त्रमा प्रधानमन्त्री लागेको आरोप लगाए ।
अहिलेको ६ महिने र ९ महिने म्यादी सरकारले देशलाई गम्भीर सङ्कटमा लैजाने भन्दै उनले देशलाई स्थिर सरकारको आवश्यकता भएको बताए । रासस