काठमाडौँ/आफ्नो आसन्न भारत भ्रमणका बारेमा प्रधानमन्त्री पुष्पकमल दाहालले पूर्वप्रधानमन्त्रीहरुसँग परामर्श लिएका छन् । प्रम निवास बालुवाटारमा आज भएको परामर्शका क्रममा पूर्वप्रमहरुले बदलिँदो अवस्थामा नेपाल–भारत सम्बन्धलाई अझ उचो बनाउन र विगतमा दुई देशबीच भएका विभिन्न सन्धि र सम्झौतालाई कार्यान्वयनमा उतार्न प्रम दाहाललाई सुझाव दिए। उनीहरुले नेपाल–भारतबीचको सम्बन्ध पुरानो र घनिष्ट रहेको भन्दै यो सम्बन्धलाई अझ बलियो बनाउँदै लैजान प्रम दाहालको भ्रमण सफल रहने विश्वास व्यक्त गरे । नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रम शेरबहादुर देउवा, नयाँ शक्ति पार्टीका संयोजक एवम् पूर्व प्रम डा बाबुराम भट्टराई, नेकपा (एमाले)का नेता एवम् पूर्वप्रम माधवकुमार नेपाल र पूर्वप्रम लोकेन्द्रबहादुर चन्दले प्रम दाहाललाई सुझाव दिए । “मैले नेपाल–भारत सम्बन्धलाई बदलिँदो अवस्थामा अझ उचो बनाउने काम भारत भ्रमणमा गर्न प्रम दाहाललाई सुझाव दिएँ” – नेकाका सभापति देउवाले भने । उनले विगतका दुई देशबीच भएका सहमति र सम्झौतालाई अझ प्रभावकारी ढङ्गबाट कार्यान्वयन गर्न खाँचो रहेको बताए । नेकपा (एमाले)का वरिष्ठ नेता नेपालले आफ्नो दलले दलीय आधारमा प्रम दाहाललाई सुझाव दिइसकेको चर्चा गर्दै नेपाली जनताको शिर उचो बनाउने काम भारत भ्रमणका क्रममा गर्न प्रम दाहाललाई सुझाव दिएको बताए । उनले विगतमा नेपाल–भारतबीच सडक, यातायात, ऊर्जा क्षेत्रमा भएका सन्धि सम्झौता कार्यान्वयनमा जोड दिए । नयाँ शक्ति पार्टीका संयोजक डा भट्टराईले आफूले लिखित रुपमा प्रम दाहाललाई दशबुँदे सुझाव दिएको सञ्चारकर्मीलाई जानकारी दिए । साउन १९ गते व्यवस्थापिका–संसद्बाट काँग्रेसको साथ र सहयोगमा प्रधानमन्त्री पदमा निर्वाचित भएका दाहालले यही भदौ ३० गतेबाट भारत भ्रमण गर्दै छन् । चारदिने भ्रमणका क्रममा उनले भारतीय समकक्षी तथा राष्ट्रपतिलगायत भारतीय उच्च पदस्थ अधिकारीहरुसँग भेटघाट गर्नुहुने कार्यक्रम रहेको छ । प्रम दाहालले अहिले सर्वदलीय बैठकको आयोजना गरेका छन् । रासस