इटहरी/ पूर्व जनमुक्ति सेनाले द्वन्द्वकालमा जागिर छाडेका प्रहरी र सेनालाई सम्मानपूर्वक बहाली गर्न माग राख्दै यसका लागि सङ्घर्ष गर्ने जनाएको छ ।
पूर्व माओवादी जनमुक्ति सेनाका ब्रिगेड सहायक कमाण्डर सूर्य खड्काको अध्यक्षतामा सङ्घर्ष समिति गठन गरी पूर्व प्रहरी र सेनालाई पुनर्वहाली गरी शहीद तथा घाइते, बेपत्ता परिवारलाई अविलम्ब क्षतिपूर्ति दिन पनि माग गरिएको छ । जनमुक्ति सेनालाई पेन्सनको व्यवस्था गर्न, निःशुल्क उपचारको व्यवस्था गर्न, तालिम र रोजगारको ग्यारेन्टी गर्न पनि माग गरिएको छ ।
यसैगरी ऊर्जाशील समय व्यवस्था परिवर्तनका लागि खर्चेको भन्दै जनमुक्ति सेनालाई क्षतिपूर्तिस्वरुप २० लाख रुपैयाँका दरले प्रदान गर्न पनि माग गरिएको छ । अयोग्य लडाकु सेनालाई पूर्ववर्ति सरकारले २ लाख रुपैयाँ दिने घोषणा गरेकोमा सो रकम नदिनू भन्ने सर्वोच्चको आदेश खारेज गर्न पनि माग गरिएको छ ।ती माग पूरा गराउन सम्वन्धित निकायसँग छलफल गर्ने, सरकारलाई ज्ञापनपत्र बुझाउने र द्वन्द्वमा जागिर छाडेका सेना र प्रहरीसँग छलफल अघि बढाउने अध्यक्ष सूर्य खड्काले जनाए ।