धनकुटा/ नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले वर्तमान गठवन्धन सरकार स्थानीय निकायको निर्वाचन नगरी संवैधानिक र राजनैतिक सङ्कट सृजना गर्ने षड्यन्त्रमा लागेको आरोप लगाएका छन् ।धनकुटाको पाख्रीवासमा बुधबार एमाले १ नम्बर प्रदेश कमिटीको प्रथम भेला उद्घाटनपछि महासचिव पोखरेलले यस्तो बताएका हुन् । उनले आगामी ०७४ साल माघ ४ गतेभित्रमा सङ्घीय संसद, प्रदेश र स्थानीय तहको निर्वाचन नभए मुलुकमा संवैधानिक सङ्कट सृजना हुने बताए ।
माघ ७ पछि अहिलेको संसद नरहने र मुलुकको भविष्य अनिश्चिततातिर जाने भएकाले नयाँ संविधानको रक्षा र कार्यान्वयन गर्दै स्थानीय तहको निर्वाचनको लागि नेकपा एमाले जनतामाझ जाने उनको भनाइ थियो ।संविधानको अनुसूची ८ र ९ लाई टेकेर स्थानीय तहको पुनःसंरचना गरिएको बताउँदै उनले जिल्ला विकास समितिले दिने सबैखाले सेवा अबको स्थानीय तहले दिनेगरी ५ सय ६५ वटा स्थानीय तहको पुनःसंरचनाको खाका अघि सारेको पोखरेलले बताए । यद्यपि त्यसो गर्दा पनि भएन भने ७५ जिल्लामा कायम रहेको इलाकालाई आधार मानेर ९ सय २७ वटा स्थानीय तहको पुनःसंरचना गर्न पनि एमाले पछि नपर्ने उनले बताए ।
एमाले १ नम्बर प्रदेश कमिटीका संयोजक भीम आचार्यको अध्यक्षतामा शुरु भएको प्रथम प्रदेश भेलाको उद्घाटन सत्रमा एमाले धनकुटाका अध्यक्ष राजेन्द्र राईले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन प्रदेश नं.१ कमिटीका सहसंयोजक शेरधन राईले गरेका थिए ।दुई दिने भेलाले प्रदेश नं.१ को नयाँ नेतृत्व समेत चयन गर्ने पार्टी स्रोतले जानकारी दिएको छ । भेलामा प्रदेश नं.१ अन्तर्गतका केन्द्रीय कमिटी पदाधिकारी, केन्द्रीय सदस्यहरु, प्रदेश कमिटीका पदाधिकारी, सदस्य, जिल्ला अध्यक्ष एवं सचिवहरुको उपस्थिति रहेको छ । भेला बिहीबारसम्म सञ्चालन हुनेछ ।