काठमाडौं / नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले जनसत्ता सञ्चालनमा सहकार्यका लागि विभिन्न दलहरूलाई अनुरोध गरेको छ ।
अहिले पनि विभिन्न बहानामा जनसत्ता सञ्चालन गरिरहेको ‘विप्लव’ माओवादीले यसलाई रणनैतिक रुपमा अगाडि बढाउन खोजेको छ । जनसत्ताको नेतृत्व ‘विप्लव’ माओवादीले सन्तोष बुढामगरलाई यसअघि नै दिइसकेको छ ।
नेकपा माओवादीको भदौ १४ गते सम्पन्न केन्द्रीय समितिका निर्णय सार्वजनिक गर्न सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता खड्क विश्वकर्माले क्रान्तिकारी, सच्चा लोकतन्त्रवादी शक्तिहरूसँग संयुक्त मोर्चा निर्माण गर्ने निर्णय भएको बताए ।
‘संसदवादी दलालहरूले जनचाहना विपरित सत्ता कब्जा गरेर संसदीय व्यवस्था सञ्चालन गर्ने मुर्खता गरिरहेको स्थितिमा त्यसको पूर्णरुपले अस्वीकार र प्रतिरोध गर्दै जनयुद्धको बलमा संगठित जनसत्ताहरूलाई पुर्नगठन गर्ने प्रकृयालाई तीव्रता दिने निर्णय लिइएको छ’, पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा भनिएको छ, ‘प्रतिक्रियावादी संसदीय सत्ताका विरुद्ध संघर्षमा सक्रिय सबै क्रान्तिकारी, देशभक्त, प्रगतिशील, सच्चा लोकतन्त्रवादी शक्तिहरूसँग संयुक्त मोर्चा निर्माण गर्ने निर्णय लिइएको छ । साथै सहमति भएमा जनसत्ता सञ्चालनमा समेत सहकार्य गर्न सबैमा अनुरोध गर्ने निर्णय लिइएको छ ।’
‘विप्लव’ माओवादीले संसदीय व्यवस्थालाई अन्त्य गर्न र नेपाली क्रान्तिलाई पूरा गर्न अलगथलग रहेका क्रान्तिकारी पार्टी, नेता र कार्यकर्ताहरूलाई व्यापक रुपले उच्च सम्मानका साथ ध्रुवीकृत तथा एकीकृत गर्ने निर्णय गरेको प्रवक्ता विश्वकर्माले बताए ।
फागुन १ गतेदेखि ७ गतेसम्म आठौँ महाधिवेशन गर्ने निर्णय भएको बताएका प्रवक्ता विश्वकर्माले उद्घाटनसत्र काठमाडौंको खुलामञ्च र बन्दसत्र रोल्पाको थवाङमामा हुने उल्लेख बताए । ‘विप्लव’ माओवादीले महाधिवेशन अगाडि मंसिरसम्म गाउँ/नगर सम्मेलनहरू र पुसभित्र जिल्ला सम्मेनहरू सम्पन्न गर्ने निर्णय गरेको छ ।