काठमाडौँ/संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले पूर्वाधारको विकास भएमात्र पर्यटन क्षेत्रको समग्र विकास हुने बताउएका छन् ।

रिपोर्टर्स क्लब नेपालले बिहीबार यहाँ आयोजना गरेको साक्षात्कारमा मन्त्री शाहीले पर्यटनको विकास गर्न अन्तर्राष्ट्रिय उडानका लागि पाँचवटा र आन्तरिकका लागि दशवटा जहाज भित्र्याउने तयारीमा मन्त्रालय लागेको बताए ।
मन्त्री शाहीले स्वदेशी उडानलाई सेवामूलक र विदेशी उडानलाई आम्दानी गर्ने माध्यमका रुपमा विकास गरेमात्र पर्यटनको विकास हुने स्पष्ट पारे ।
उनले भूकम्पबाट क्षति भएको सम्पदाको पुनःनिर्माणका लागि लाग्ने खर्च र योजना एक महिनाभित्र मन्त्रालयमा बुझाउन सम्बन्धित पक्षलाई आग्रह गरेको बताए ।
“पर्यटक नेपालको संस्कृति, कला, नदीनाला, भाषा, वेशभूषा हेर्न आउँछन् त्यसका लागि सबै सवारी साधनको उपयुक्त व्यवस्था नभएकाले जहाज आवश्यक छ” – मन्त्री शाहीले भने ।
उनले मुलुकको पर्यटन विकासका लागि सातवटै प्रदेशका सम्भावित स्थानको कार्ययोजना बनाउन निर्देशन दिइएको बताए ।