इटहरी/राप्रपा र राप्रपा नेपालको एकिकरण कार्यक्रमको लागि सभाहलको भाडा समेत तिरिसकेको अवस्थामा राप्रापाका अध्यक्ष पशुपति शमसेर पार्टी एकिकरण भाँडेको राप्रपा नेपालका अध्यक्ष कमल थापाले खुलासा गरेका छन् । राष्ट्रिय सभागृह साउन २५ गतेको पार्टी एकिकरणको कार्यक्रम लाई हल भाडा दिनुका साथै टेलीभिजनमा प्रत्यक्ष प्रशारण गर्ने समेतको कार्यक्रम तय भए पछि अध्यक्ष राणाले विना जानकारी एकता भङ्ग गरेको अध्यक्ष थापाको भनाई छ ।
इटहरीमा बुधबार आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष थापाले सहमति विपरित राप्रपाका अध्यक्ष पशुपति शमसेरले अहिलेको सरकारमा समाहित गराएको बताए ।अध्यक्ष कमल थापाले राप्रपा बाट सरकारमा गएका मन्त्री फिर्ता गरिए दुई पार्टी बीच एकता हुने बताए । राप्रपा र राप्रपा नेपालबीच एकिकरणको मिति तय भएर पनि रोकिएको विषयमा सञ्चारकर्मीको प्रश्नमा अध्यक्ष थापा पार्टी एकीकरण नहुनुमा सम्पूर्ण जिम्मेवार पशुपति शमसेर हुने बताए ।‘हामीले साइतै हेरेर साउन ११ एक बजेको मितिमा दुवै पार्टीको बैठक राख्यौं’ पत्रकार सम्मेलनमा अध्यक्ष थापाले भने ‘ एकिकरणको अन्तिम तयारी सहित साउन २५ गते पार्टी एकिकरणको मिति पनि तोकियो, उहाँले (पशुपति शमसेर) २४ गतेनै सरकारमा दुई मन्त्री पठाएर एकिकरण तुहाइदिनुभयो ।’ साउन २४ गतेको अवस्थामा राप्रपा आए अझै पनि पार्टी एकिकरणको सम्भावना भएको बताए ।
पार्टी केन्द्रीय समितिले गरेको निर्णय अध्यक्ष एक्लैले लत्याए पछि राप्रपाका नेता कार्यकर्ताहरु राप्रपा नेपालमा सहभागि हुने क्रम शुरु भएको पनि उनको दावी थियो । अध्यक्ष थापाले राष्ट्रियता प्रजातन्त्र र सनातन हिन्दु राज्यको लागि सहमति हुने जुन सुकै पार्टी र संस्था आफं्नो पार्टीमा समहत हुन सक्ने भन्दै त्यसको लागि आग्रह गरे । पूर्व मन्त्री एवम् राप्रपा नेपालका केन्द्रीय सदस्य रामकुमार सुब्बाको निवासमा भएको पत्रकार सम्मेलन मिडिया नेपाल सुनसरीको आयोजनामा भएको थियो ।