इलाम/ इलाम जिल्लामा आत्महत्याकोे सङ्ख्या वृद्घि भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । विगतदेखिको तथ्याङ्कलाई अवलोकन गर्दा वर्षेनी आत्महत्याको सङ्ख्यामा कमि नआइ वृद्वि भइरहेको प्रहरीको भनाइ छ । आत्महत्या गर्नेमा अधिकांश गृहिणी महिला छन् भने पुरुष, बालबालिकाले पनि उत्तिकै आत्महत्या गरेको तथ्याङ्कमा देखिन्छ । मानसिक चिन्ता, पारिवारिक कलह जस्ता कारणले महिलाले आत्महत्या गरेको पाइन्छ भने बालबालिकाले समाजमा देखेर, चलचित्र हेरेर, देखासिकीको भरमा समेत आत्महत्या गरेको तथ्याङ्कमा उल्लेख छ । आत्महत्या गर्नेहरुमा झुण्डिएर आत्महत्या गर्नेको सङ्ख्या विष सेवन गर्नेको सङ्ख्याभन्दा बढी छ । विष सेवन गरी आत्महत्या गर्ने गत वर्षभन्दा हाल कम रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । गत आर्थिक वर्ष २०७०÷०७१ मा झुण्डिएर आत्महत्या गर्नेमध्ये पुरुष २६ र महिला १२ छन् । यस्तै विष सेवन गरी आत्महत्या गर्नेमा पुरुष १०, महिला छन् । यस्तै इलाका प्रहरी कार्यालय पशुपतिनगरको तथ्याङ्क अनुसार जम्मा २७ वटा आत्महत्याका घटना भएकोमा पाँच महिला र २२ पुरुष छन् भने विष सेवन गरी आत्महत्या गर्नेमा तीन पुरुष र एक महिला छन् । आव २०७१÷०७२ मा जिल्ला प्रहरी कार्यालयमा दर्ता भएकामध्ये झुण्डिएर आत्महत्या गर्ने महिला २२ र पुरुष २३ छन् । विष सेवन गरी आत्महत्या गर्ने महिलाको सङ्ख्या पाँच रहेको तथ्याङ्कमा उल्लेख छ । आर्थिक वर्ष २०७२÷०७३ मा ५८ जनाको झुण्डिएर आत्महत्या भएकोमा पुरुष २३ र महिला ३४ छन् । विष सेवनबाट यस वर्ष भने दुईजनाले मात्र आत्महत्या गरेका छन् ।