धरान/भाटभटेनी डिपार्टमेन्टको धरान शाखाले म्याद गुज्रिएको र नगुज्रिएको सामग्री एकै स्थानमा राखेको पाइएपछि स्टोर रुममा सिलबन्दी गरिएको छ ।जिल्ला प्रशासनको नेतृत्वमा आइतबार गरिएको अनुगमनका क्रममा दुवै सामग्री एकै स्थानमा राखेको पाइएपछि सिलबन्दी गरिएको हो । यसअघि पनि भाटभटेनीमा जिल्ला प्रशासनकै नेतृत्वमा अनुगमन हुँदा पेय पदार्थ तथा फलपूmल म्याद उल्लेख नभएको र कुहिएको अवस्थामा फेला परेको थियो । त्यस बेला पनि भाटभटेनीका धरान म्यानेजरलाई चेतावनी पत्र दिइएको थियो ।
[caption id="attachment_11200" align="alignnone" width="930"]
यसपटकको अनुगमनमा स्टोरमा जाँच गर्दा म्याद गुज्रिएका सामग्री राखिए पनि कति परिमाणमा राखिएको भन्ने खुलाउन नसकेको कारण सिलबन्दी गरिएको सुनसरी जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत केशव खतिवडाले बताए । ‘पेय पदार्थ, बिस्कुट, आँटा म्याद गुज्रिएको र एकै ठाउँमा स्टोरेज गरेको पाइएपछि सिलबन्दी गरिएको हो ।’ अधिकृत खतिवडाले भने । मिति सकिएको र नसकिएका खाद्य पदार्थहरु एकै ठाउँमा भण्डारण गर्न नपाइने कानूनी व्यवस्था छ । सोही प्रावधानका आधारमा सिल गरिएको हो ।म्याद गुज्रिएका सामग्री कति परिमाणमा छ भन्नेसमेत धरान शाखाका कर्मचारीलाई थाहा नभएपछि स्टोर नै सिल गर्नु परेको उनले बताए । अब जिल्ला प्रशासनमा छलफलपछि मात्रै कुन दिन जाँच गर्ने भन्ने निर्णय गरिने उनले बताए ।
छाताचोकको गङ्गोत्री इन्टरप्राइजेजमा लाइसेन्स नलिई डिजिटल काँटा सञ्चालन गरेको पाइएको छ । इन्टरप्राइजेजका सञ्चालक अविनाश अधिकारीलाई तीन दिनभित्र नापतौल विभागको विराटनगरस्थित क्षेत्रीय कार्यालयबाट अनुमति लिन निर्देशन दिइएको छ । त्यहाँ बेकरी आइटममा लेबल नभएपछि जफत गरेर नष्ट गरिएको छ । सञ्चालक अधिकारीले लाइसेन्स काँटाको लिनुपर्ने विषयमा जानकारी नभएको बताए । त्यस्तै लक्ष्मी बेकरीमा समेत बिस्कुटमा लेबल नटाँसिएको र बिस्कुटमा प्रयोग गरिने रसायनमा समेत लेबल नभएको पाइएपछि नष्ट गरिएको छ ।
त्यस्तै वराह डिपार्टमेन्टमा समेत अनुगमन गरिएको थियो तर वराहले स्टोर देखाउन नसकेको उनले बताए ।अनुगमनमा नापतौल विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, घरेलु तथा साना उद्योग सुनसरी, पशु विकास कार्यालय, जिल्ला कृषि कार्यालय, धरान उपमहानगरपालिका, सुनसरी उद्योग वाणिज्य सङ्घ र वडा प्रहरी कार्यालयका प्रतिनिधिहरु अनुगमन टोलीमा सहभागी थिए । चाडबाड नजिकिँदै जाँदा कालोबजारी, मिसावट, कृत्रिम अभाव सिर्जना गर्ने गरिएकाले पनि नियमित अनुगमन गरिएको प्रशासनले बताएको छ ।