धरान/ धरानस्थित सेन्चुरी बैङ्कको शाखा कार्यालयमा भएको करोडौं रुपैयाँ घोटाला प्रकरणमा बैङ्क कर्मचारी र सञ्चालक समितिले गम्भीर लापरवाही गरेको पाइएको छ । सर्वसाधारण जनताको करोडौं रुपैयाँ बचत रहेको बैङ्कले सुन घोटाला प्रकरणमा गम्भीर त्रुटी गरेको प्रमाणित हुने आवश्यक कागजात ब्लाष्टले फेला पारेको छ । बैङ्कको गोल्ड लोन कार्यक्रम अन्तर्गत गरिएको लगानीमा धितोभन्दा कयौं गुणा बढी लोन प्रवाह गरेर त्यसलाई ढाकछोप गर्न बैङ्क व्यवस्थापनले कोशिस गरिरहेको ब्लाष्टले सोमबारको अङ्कमा सार्वजनिक गरेको थियो ।

century बहुसङ्ख्यक लगानीकर्ता धराने रहेको बैङ्कको धरान शाखामै करोडौं रुपैयाँ गोलमाल भएको विषय व्यवस्थापनले लुकाउन र छोप्न खोज्दाखोज्दै बाहिरिएको हो । बैङ्ककै एक सञ्चालकसहित करीब आधा दर्जन धराने सुन व्यवसायीलाई धितोभन्दा कयौं गुणा बढी लोन प्रवाह गरिएको विषयमा न त छानविननै भएको छ न त राष्ट्र बैङ्कले नै यो विषयलाई गम्भीरतापूर्वक लिएको छ । धरानको पुतलीलाइनस्थित इमान्युएल ज्वेलरीका सञ्चालक सञ्जय राईलाई दिइएको ९ करोड ३२ लाख गोल्ड लोनमध्ये ८ करोड ३५ लाख लोनको धितो नभएको विषयलाई छोप्न बैङ्क व्यवस्थापनले अनेक कोशिस गरेपनि ब्लाष्टले लोन प्रवाह भएका कागजातनै बैङ्क स्रोतबाट फेला पारेपछि यो विषयमा बैङ्कले गम्भीर त्रुटी र जनताको बचतमाथि खेलवाड गरेको प्रमाणित भएको हो । सेन्चुरीले आर्थिक सुशासन र राष्ट्र बैङ्कको निर्देशनको धज्जी उडाउँदै प्रचलित बैङ्किङ कारोबारको सामान्य नियमविपरीत लोन प्रवाह गर्ने गरेको यो प्रकरणबाट पुष्टि भएको छ । बैङ्कमा कार्यरत् एक कर्मचारीको सहयोगमा ब्लाष्टले फेला पारेका कागजातमा लोन प्रवाह गर्दा सुन जाँचकी बाहेकले लोन पेपरमा दस्तखत गरेको देखिँदैन ।

पटक–पटक गरी फरक–फरक मितिमा बनाइएको करीब ८ करोड गोल्ड लोनका दर्जनांै तमसुक रसिदमा कुनैमा पनि तत्कालीन बैङ्क मेनेजर निखिल श्रेष्ठले सही गरेको देखिँदैन भने कयौं रसिदमा त सुन जाँचकी, लोन अधिकृत र मेनेजर समेतको सही भेटिँदैन । प्रचलित मान्यता र नियमअनुसार हरेकपटक दिइएको लोन रसिदमा सुन जाँचकी, लोन अधिकृत र मेनेजरको दस्तखत र स्वीकृतिपछि मात्रै लोन प्रवाह गर्नुपर्छ । तर सेन्चुरीले जनताले बचत गरेको करोडौं रुपैयाँबाट धितोभन्दा कयौं गुणा बढी लोन दिनुका साथै लोन प्रमाणित हुने कागजात समेत कानुनबमोजिम नबनाइ दिइएको ब्लाष्टसँग रहेका बैङ्कका आन्तरिक कागजातले देखाउँछ । यति ठूलो घोटालामा मुछिएका शाखा प्रमुख निखिल श्रेष्ठलाई जोगाउन र यो विषयलाई ढाकछोप गर्न ओडी लोनको कागजात बनाएर लोन लिनेको सम्पत्ति रोक्का गरेर लोन तिराउन दबावलाई तीब्र बनाएको बैङ्क स्रोतले बताएको छ ।

सुन घोटालामा मुछिएका सञ्जय राईले आपूmले सुन राखेर नै लोन लिएको दाबी गर्दैआएका छन् । उनले आपूmले राखेको करोडौं रुपैयाँबराबरको सुन बैङ्कबाटै हराएको दाबी गर्दै छानविन गर्न माग गरेका छन् । राईले भने, ‘धितोविना कसरी दिइयो मलाई लोन, त्यो त हुनै नसक्ने कुरा हो । मलाई योजनाबद्ध रुपमा फसाइयो ।’सुन घोटाला प्रकरणमा मुछिएका बैङ्क व्यवस्थापन निकट मानिएका मेनेजर निखिल श्रेष्ठले भने यो विषयमा सुन जाँचकी र लोन लिने सञ्जय राई जिम्मेवार रहेको जिकिर गरेका छन् । लोनको तमसुक पेपरमा मेनेजरको सही नभएको विषयमा जिज्ञासा राख्दा उनले कहिलेकाहिँ कुनै पेपरमा छुटेको हुनसक्ने बताउँदै दस्तखत नरहेको कुरालाई स्वीकार गरेका छन् । करीब ८ करोड लोनको कागजातमा सही नगरेको विषयमा भने उनले बैङ्कमा रहेका तमसुकमा भने सबैमा दस्तखत रहेको बताएका छन् । बैङ्कमा रहेका तमसुकमा यो प्रकरण सार्वजनिक भएपछि दस्तखत गरेर मिलाइएको भनेर बैङ्क स्रोतले दिएको जानकारीका विषयमा भने उनले त्यो कुरा गलत भएको दाबी गरेका छन् । बैङ्क स्रोतले भने सुन घोटाला प्रकरण सञ्जय, जाँचकी कुमार श्रेष्ठ र मेनेजर निखिल श्रेष्ठको आपसी मिलोमतोमा भएको दाबी गरेको छ । स्रोत भन्छ, ‘करोडौं रुपैयाँ घोटाला र गोलमाल एक्लै सम्भव नै छैन, सबैको मिलोमतोमा भयो । अहिले समस्या बाहिरिएपछि चोख्खिनका लागि एकअर्काको थाप्लोमा हाल्ने कोशिस भइरहेको छ ।’ स्रोतका अनुसार बैङ्कका प्रमोटर शेयर होल्डर समेत रहेका कृष्ण ज्वेलर्सका सञ्चालक विशन मास्के सहित आधा दर्जन धराने सुन व्यवसायीको गोल्ड लोनमा धितोभन्दा बढी लगानी गरिएको थियो । जथाभावी लोन प्रवाह गरेको विषय बाहिर सडकसम्म पुगेपछि प्रोमोटर शेयर होल्डर र तीनका नातेदारको भने गुपचुप राखेर मिलान गरिएको र केहीको अभैm बाँकी रहेको बैङ्क स्रोतले जानकारी दिएको छ । लामो समय गुपचुप राखिएको सुन घोटाला प्रकरणपछि बैङ्कको केन्द्रीय कार्यालयमा बुधबार यो विषयमा गम्भीर छलफल भएको बैङ्क उच्च स्रोतले बताएको छ । सुन घोटाला प्रकरणका विषयमा ब्लाष्टले सिईओ अनोजमणि तिम्सिनासँग सम्पर्क राख्दा उनले यस विषयमा केही बताउन चाहेनन् । उनले आपूm व्यस्त रहेको बताउँदै पछि कुरा गर्ने म्यासेज पठाएर पन्छिए । यति ठूलो घोटालाको विषयमा ब्लाष्टलाई सूचना दिने स्रोतले यसअघि पनि केही सञ्चारकर्मीलाई सूचना दिएको खुल्न आएको छ । स्रोतले दिएको अडियो बयानमा उनले, केही समयअघि केही सञ्चारकर्मीले आपूmलाई भेटेर यो विषयमा सूचना लिएको तर सञ्चारमाध्यममा भने स्थान नपाएको जनाएका छन् ।