विराटनगर/ उपमहानगरपालिकाले चालु आर्थिक वर्षबाट लागु हुने गरी घरजग्गा करमा परमार्जन गरेको छ । करको दर र दायरा परिमार्जन गर्दा उपमहानगरपालिकाले मनोमानी नगरी नेपाल सरकारले निर्धारण गरेको परिधि भित्रैबाट गरेको भन्दै बुधवार स्पष्टिकरण दिएको छ । पत्रकार सम्मेलन आयोजना गरी उपमहानगरपालिकाका कार्यकारी अधिकृत गोपाल प्रसाद रेग्मीले करको दर परिमार्जन गर्दा स्थानीय स्वायत्त शासन नियमावली २०५६ को सातौं संशोधनले निर्दिष्ट गरेको परिधि भित्रै रहेर न्युनतम मात्र वृद्धि गरेको जनाएको छ ।

former विराटनगर उपमहानगरपालिकाले नयाँ दर निर्धारण गरेपछि न्युन आय तथा सम्पति भएकाहरुमाथि करको भार वृद्धि भएको छ भने महंगो जमिन र ठूला घर तथा महल भएकाहरुले विगतमा तिर्दै आएको करमा भारी छुट हुने देखिएको छ । नेपाल सरकारले २०७२ कार्तिक ९ गते संशोधन भई लागु भएको नियमावली र त्यसका आधारमा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयबाट भएको निर्देशन अनुसार करको दर परिमार्जन गरी कार्यान्वयनमा लगेको नगरपालिकाले जनाएको छ । नयाँ घरजग्गा कर लागु भएपछि घरजग्गा कर तिर्ने साना आर्थिक हैसियत र सम्पती भएकाहरुले विगतको तुलनामा दोब्बर कर तिर्नुपर्ने छ भने ठूला करदाताहरुले सम्पतीको हैसियत अनुसार ३० प्रतिशतसम्म कम कर बुझाउँदा पुग्ने देखिएको छ ।

नयाँ करको दर लागु भएपछि विगतमा १० लाख सम्मको सम्पतिमा कर नलाग्ने व्यवस्था खारेज भएको छ । अघिल्लो आर्थिक वर्षसम्म न्युनतम ३ सय ७५ रुपैंया कर तिर्दै आएका नगरवासीले अब घरजग्गा कर बापत ६ सय रुपियाँदेखि ७ सय रुपियाँसम्म तिर्नुपर्ने छ । यसलाई ३० लाख रुपैंयासम्मको एकमुष्ट सम्पती मुल्यांकनको आधार मानिएको छ । यसैगरी घर र जग्गाको सम्पति मुल्यांकन गर्दा ५० लाखसम्म हुने नगरवासीले पछिल्लो २० लाख रुपियाँमा शुन्य दशमलव एक प्रतिशत रकम सहित २ हजार ७ सय रुपियाँ कर लाग्ने छ । यस अघि उनीहरुले करिव ८ सय रुपैंया मात्र कर बुझाउने गरेका थिए । कुल एक करोडसम्म सम्पति मुल्यांकन भए सुरुको ३० लाख अन्तरगत हुने ७ सय रुपियाँ, त्यस पछिको २० लाखले हुने २ हजार रुपियाँमा र त्यस पछिको ५० लाख रुपियाँमा शुन्य दशमलव एक सात (०.१७)प्रतिशत जोडेर हुन आउने ११ हजार २ सय रुपियाँ कर लाग्ने छ । घर र जग्गाको कुल मूल्यांकन २ करोड भएको खण्डमा ३६ हजार २ सय रुपियाँ तिर्ने छ । त्यो भन्दा बढी हुने रकममा शुन्य दशमलव चार शुन्य(०.४०) प्रतिशतका दरले कर रकम बुझाउनु पर्ने छ ।

आर्थिक वर्ष २०७३÷७४ कालागि योजना तर्जुमा गर्दैगर्दा बसेको नगर परिषदको बैठकले करको दर परिमार्जन गरेको हो । अहिले स्थानीय निकाय कर्मचारीले नेतृत्व गरिरहेका कारण एक सदस्यिय बोर्ड रहेको छ । परिषदको निर्णय भनिने गरेको भएपनि त्यसमा कार्यकारी अधिकृत एक मात्र हस्ताक्षरकर्ता हुन् । करको दर परिमार्जन गर्दा स्थानीय राजनीतिक दलको समर्थन लिइएको नगरपालिकाले जनाएको छ । नेपाली काग्रेंस नगर समिति सभापति भीम पराजुली, नेकपा एमालेको तर्फबाट नगरपालिकाका प्रतिनिधि सागर थापा, नेकपा माओवादी केन्द्रका नगर संयोजक नमिता न्यौपाने लगायत अन्य विभिन्न दलका नगर प्रतिनिधिहरुले त्यस प्रस्तावमा समर्थन गरेका गरेको नगरपालिकाले जनाएको छ ।

करको दर परिमार्जन हुँदा साना करदाता भने मारमा परेका छन् । सामान्यतया एउटा सानो घर र दश धुर जमिन हुने नगरवासीले विगतको तुलनामा दोब्बर कर रकम बुझाउनु पर्ने भएको छ भने विगतमा ४० लाख सम्म घरजग्गा कर तिर्ने व्यवसायि तथा घरानाले अब करिब २५ लाख रुपैंया मात्र कर तिर्नेछन् । नियमावली संशोधन गरी भएको परिमार्जनका आधारमा कर निर्धारण गरिएकोले धेरै सम्पति हुनेले कम कर तिर्ने अवस्था सृजना भएको र त्यसमा नगरपालिकाको कुनै दुराशय नरहेको कार्यकारी अधिकृत रेग्मीले बताउनुभयो । उहाँले थोरै सम्पति मुल्यांकन हुनेको हकमा सरकारले तय गरेको रेटमा पनि न्युनतम मात्र लागु गरेको दावी गर्नुभयो ।

नगरपालिकाले करको दरमा परिवर्तन गरेपछि त्यसको विरोधमा नेपाली काग्रेंस र नेकपा माओवादी केन्द्रका नगर प्रतिनिधिहरुले खुलेर विरोध थालेका छन् । यद्यपी उनीहरु दुवै सहित सबै दलका नगर प्रतिनिधिहरुले नगरपालिकाको सो निर्णयमा पहिले नै समर्थन जनाइसकेका छन् । कार्यकारी अधिकृत गोपाल प्रसाद रेग्मीले सरकारको निर्देशन र स्थानीय दलहरुको समर्थन लिएर नै निर्णय गरेकोले विरोध गर्नुपर्ने कुनै कारण नभएको बताउनुभयो ।

विराटनगर उपमहानगरपालिकाले आर्थिक वर्ष २०७२÷७३ मा ८ करोड ३९ लाख ४७ हजार १ सय ३६ रुपियाँ घरजग्गा कर संकलन गरेको थियो । करको दर परिमार्जन गरी थोरै सम्पति भएकाहरुमा करको भार वृद्धि गरी धेरै सम्पति हुनेकालागि करको दर घटाउँदा पनि उपमहानगरपालिकाको आम्दानीमा खासै फरक भने नपर्ने देखिएको छ । विराटनगर उपमहानगरपालिकाले आगामी वर्ष घरजग्गा करबाट ८ करोड ७० लाख रुपियाँ आम्दानी हुने अनुमान गरेको छ ।