चितवन/आन्तरिक राजस्व कार्यालय भरतपुरले गत आवमा कानुनी कारबाही गरेर रु १९ करोड ४१ लाख बक्यौता असुल गरेको छ । राजस्व असुली गर्न कार्यालयले बैंक खाता रोक्का, भन्सार रोक्का र घरजग्गा रोक्का समेत गरेको थियो । कार्यालयका कर अधिकृत गुणराज पोखरेलका अनुसार २९ जनाको बैंक खाता तथा ४७ जनाको भन्सार रोक्का गरिएको थियो । मूल्य अभिवृद्धि करतर्फ ४९ करदाता र आयकरतर्फ ३७ करदातालाई कानुनी कारबाही गरेर बक्यौता असुल गरेको थियो । अन्यलाई नियमित टेलिफोन गर्ने, पत्राचार गर्ने, ताकेता गर्ने, करदाता कहाँ पुगेर भेटघाट गर्ने, सामूहिक रुपमा कर शिक्षा दिने, स्थानीय सञ्चारमाध्यममार्फत कर तिर्न उत्प्रेरित हुने सन्देश प्रवाह समेत गरिएको पोखरेलको भनाइ छ । “दुई हजार २६९ मूल्य अभिवृद्धि करतर्फका करदाताबाट रु २२ करोड तथा एक हजार करदाताबाट रु १२ करोड आयकर असुली गर्न बाँकी छ,” उनले भने । यस्तै मूल्य अभिवृद्धि करतर्फ ३६ जनाबाट रु १० लाखभन्दा बढी असुल गर्न बाँकी छ ।