
भद्रपुर/ भन्सार प्रमुख सहित कर्मचारीकै मिलोमतोमा भन्सारमा अनियमितता हुने गरेको छ । मेची भन्सारको मातहातमा रहेको भद्रपुर छोटी भन्सार कार्यालयमा मासिक रुपमा आउने कर्मचारी मध्ये भन्सार प्रमुख भीमप्रसाद अधिकारीले सेटिङ मिलाउन आफु निकटका कर्मचारी पठाएपछि छोटीमा अवैध कारोबार फस्टाएको हो ।
मेची भन्सारले अहिले मासिक रुपमा कर्मचारी पठाउदै आएको छ । काकरभिटटा नाकाबाट भित्रीने ठूलो परिणामको लत्ताकपडा र जुत्ताचप्पल भद्रपुर नाकामा केही महिनादेखि भित्रिन थालेसंगै छोटीमा चलखेल सुरु भएको पाइएको हो ।चलखेलमा भन्सार प्रमुख अधिकारी सहित हाल छोटीमा तीन महिनादेखि कार्यरत सुब्बा बसन्त कार्की, साउन महिनामा आएका खरिदार सचिन श्रेष्ठ, कमल विष्ट, गोपाल सापकोटा, निर श्रेष्ठ लगायतको सम्लग्नता रहेको भन्सार निकट स्रोतले जनाए । बसन्त, सचिन, कमल जाचकीको रुपमा काम गर्दै आइरहेकोमा गोपाल र निर काउन्टरमा बस्छन । भन्सार प्रमुखको नजिकको कर्मचारी बसन्त कार्की र सचिन श्रेष्ठ रहेको स्रोतको दावी छ ।
उनले बोलेको अडियो किल्प सुरक्षित छ । भन्सारको कम्प्युटर शाखाका अपरेटर (कर्मचारी) अरुण साह यो चलखेलको एउटा पात्र मात्र हुन् । साहलाई चलखेलको पात्रको रुपमा खेलाउने काम खरिदारद्धय सापकोटा र श्रेष्ठले गरेको हो । भन्सारमा दैनिक एक करोड भन्दा बढीको सरसामान ओसारपोसार हुन थालेपछि व्यापारी तथा कारोबारीसंग सुब्बा कार्की सहित खरिदारद्धय सापकोटा र श्रेष्ठले सहजिकरण गर्दै आएको छ । उनीहरु नै छोटीको प्रमुख भएर बसेका छन् ।
छोटीमा हाल भन्सार अधिकृत दिपेन्द्रकुमार झा छन् । उनी नाम मात्रको अधिकृत हुन । भन्सार प्रज्ञापनपत्रमा अधिकृत झाको न त सहि नै चल्छ न त तल्लो कर्मचारीले आदेश नै मान्छन् । भन्सारको प्रज्ञापनपत्रमा अधिकृतको सही हुनुपर्ने स्थान उल्लेख भएपनि अधिकृतको सहीको ठाउमा सुब्बा र खरिदारले सहि गर्दै सरसामान छाडदै आएका छन् । बसन्त विदामा गएकाले हाल प्रज्ञापनपत्रमा खरिदार सापकोटाले भन्सार नियम विपरित सहि गर्दै आएको तथ्य समेत फेला परेको छ ।
केही दिनदेखि विदामा काठमार्डाै गएका बसन्तले फोन मार्फत सेटिङ मिलाउदै आएको र सो सेटिङ मिलेपछि व्यापारी तथा कारोबारी सापकोटा र श्रेष्ठलाई भेटछन् । सेटिङ पश्चात कारोबारीले भन्सारमा ल्याएको पोकालाई भन्सार भित्रै खोलेर तीन पोकालाई एक पोका बनाउछन् ।
८ देखि २० हजार सम्म पर्ने एक पोकालाई कर्मचारीले सामानको मुल्याकन, परिणाम, मिटर घटाई ३ देखि ४ हजार मात्र राजश्व तिराउदै आएको भन्सार गेट अगाडी बसेको प्रहरी रेकर्ड पुस्तिकाले पुष्टि गरेको छ । तीन पोका बनाएपछि व्यापारीलाई एक पोका छुट दिने र एक पोका बराबरको रकम भन्सारका जाचकी र काउन्टरमा बस्ने कर्मचारीले लिने प्रावधान छ । कारोबारीले बढी मुल्याकनको सामान ल्याएमा मुल्याकन घटाएबापत छुटै पोका अनुसार रकम असुल्ने चलन रहेको भन्सार निकट स्रोतले बोलेको अडियोमा प्रस्ट छ । गेटमा बस्ने नेपाल प्रहरी र सशस्त्र प्रहरीले पनि कारोबारीबाट एक हजारको दरले आफ्नो भाग लिने गरेका छन् ।
महिना दिनका लागि आउने सुब्बा सहितको कर्मचारीको टोलीले अघिल्लो महिनाको राजश्व संकलनको टारगेट मिट गर्दै एक महिनामा मात्र ३० देखि ४० लाख गोजीमा हाल्ने गरेको कुराको अडियो रेकर्डमा सुरक्षित छ । आर्थिक लेनदेनका लागि कर्मचारी कार्यालय समयपछि होटल, कार्यालय भित्रै वा अन्य सुरिक्षत स्थानमा जाने गरेका छन् । मासिक रकम सकंलन पछि त्यसको केही प्रतिशत मेची भन्सार प्रमुख अधिकारीलाई उनको निकट कर्मचारीले दिने गरेको बुझिएको छ । यता मेची भन्सार अधिकृत अधिकारीले यो आफु माथि लगाएको आरोप हो । यसको पुष्टि भएमा कार्वाही भोग्न तयार रहेको उनले बताए ।