काठमाडौँ / राष्ट्रपति विद्यादेवी भण्डारीले नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् । sapatha grahan राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले प्रधानमन्त्री दाहाललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएको हो । नवनिर्वाचित प्रधानमन्त्री दाहालले देश र जनताका नाममा शपथ लिएका छन् । विशेष समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, प्रधान न्यायाधीश सुशीला कार्की,सभामुख ओनसरी घर्ती, पूर्व प्रधानमन्त्री, उपप्रधानमन्त्री, पूर्व उपराष्ट्रपति एवम् मन्त्रीहरु, संवैैधानिक निकायका प्रमुख, सुरक्षा निकायका प्रमुख, उच्च पदस्थ कर्मचारी, कूटनीतिक निकायका प्रमुख तथा प्रतिनिधि, विभिन्न राजनीतिक दलका नेता, पत्रकार, उद्योगी व्यवसायीलगायत उपस्थित थिए । शपथ ग्रहण समारोहपछि प्रधानमन्त्री दाहालको सम्मानमा राष्ट्रपति भण्डारीले शीतल निवास परिसरमा चियापानको आयोजना गरेका थिए । व्यवस्थापिका–संसद्मा बुधबार भएको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहनुभएका दाहाल प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । यस्तै राष्ट्रपति भण्डारीले आजै उपप्रधानमन्त्रीद्वय विमलेन्द्र निधि र कृष्णबहादुर महरालाई पनि पद तथा गोपनीयताको शपथ गराए । त्यसैगरी राष्ट्रपति भण्डारीले रमेश लेखक, गौरीशङ्कर चौधरी र दलजीत श्रीपालीलाई मन्त्री पद तथा गोपनीयताको शपथ गराए ।