शनिश्चरे / संघीय लिम्बुवान पार्टी नेपालका संयोजक वीर नेम्बाङ्गले सरकार परिवर्तनका नाममा झापा, मोरङ र सुनसरीलाई कुनै पनि सर्तमा टुक्र्याउन नदिने बताएका छन् ।
बुधबार झापाको दमकमा भएको वृहत लिम्बुवान एकता दिवस कार्यक्रममा बोल्दै उनले भने ‘सरकारले कोसँग के शर्त गरेर गठबन्धन सरकार बनाएको छ ? जे सुकै शर्त भएपनि सरकार परिर्वतनको नाममा झापा, मोरङ्ग र सुनसरीलाई लिम्बुवानबाट टुक्र्याउने सहमति कुनै पनि हालतमा लिम्बुवानलाई मान्य हुने छैन ।’ झापा, मोरङ्ग, सुनसरी लिम्बुवानको इतिहाँस भएकाले यसलाई नामेट गर्न खोज्ने काम भए आन्दोलन गर्ने चेतावनी दिए । उनले झापा, मोरङ, सुनसरी सहित अरुण पूर्वका ९ जिल्लालाई लिम्बुवान राज्य बनाउनु पर्ने आफुहरुको ऐतिहासिक माग पुरा गर्न शसक्त आन्दोलन गरेर अघि बढ्ने समेत जनाए ।
कार्यक्रममा बोल्दै पार्टीका नेता कमल छाराहाङ्गले लिम्बुवानको एकता महाधिवेशन पछिको पार्टीले निर्णायक आन्दोलन गर्नेे उद्घोष गरे । अर्का नेता सञ्जुहाङ्ग पालुङ्वाले सरकारले स्थानीय निकायको पूनरसंरचना अवैज्ञानिक तरिकाबाट गर्न लागेको भन्दै टिप्पणी गरे । प्रदेशको नामंकन र सिमांकनको नै टुङ्गो नलागेको अवस्थामा गाँउपालिका र नगरपालिकाको सिमांकनको वहस लिम्बुवानलाई मान्य नहुने तर्क राखे ।
दुई वर्षअघि धनकुटाको भेडेटारमा भएको लिम्बुवान जन्य पाँच पार्टीहरु मध्ये कुमार लिङ्देन चोइटिएर पूनः आफ्नै पार्टी संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चमा फर्किएपनि अरु ४ पार्टीको एकिकरण भनें कायम छ ।