-
Home
-
राशिफल
-
संविधान पुनर्लेखन आवश्यक छैन –राजेन्द्र महतो
संविधान पुनर्लेखन आवश्यक छैन –राजेन्द्र महतो
- साउन १६, २०७३
- ब्लाष्ट खबर
विराटनगर/सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविधानसभाले बनाएको संविधान पुर्नलेखन गर्न आवश्यक नभएको बताएका छन् ।
संयुक्त मधेशी मोर्चाको महत्वपूर्ण घटक संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान पुर्नलेखन गर्नुपर्ने माग गरिरहनुभएको सन्दर्भमा मोर्चाकै अर्को घटकका नेता महतोले संविधान संशोधनबाटै सबै समस्या समाधान गर्न सकिने बताए ।
सदभावना पार्टी मोरङले आइतवार बिहान विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष महतोले संविधान निर्माणका क्रममा जुन धुन धारमा कमजोरी भएका छन् त्यसलाई संशोधनको माध्यमबाट सच्याएर मधेश र जनजातीको समस्या समाधान गर्न सकिने बताए । उनले भने‘संविधान पुर्नलेखनबारे मलाई थाहा छैन र संविधान पुर्नलेखन गरे नयाँ संविधान बनाउने भन्ने कुरा हुन सक्दैन । अहिलेको समस्या समाधान गर्ने भनेको संविधान संशोधनकै बाटोबाट हो र त्यसरी नै समाधान निकाल्न सकिन्छ भन्ने मलाई विश्वास छ ।’
मधेश र जनजातीको समस्या समाधान भएपछि मुलुकको राजनीतिक गति अघि बढ्ने भन्दै उनकाे त्यस पछि स्थानीय, प्रदेश सभा र संसदको निर्वाचन गर्न सकिने भनाई थियो । प्रदेशको सिमांकनको बिषय नमिलाएसम्म र अधिकारका बिषयहरुमा सहमति नबनेसम्म भने कुनैपनि निर्वाचन हुन नदिने उनकाे अडान थियो । उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र मधेशी मोर्चाबीच मधेशमा दुई प्रदेश बनाउने विगतदेखिकै सहमति कायम रहेको भन्दै त्यसमा प्रचण्ड अडिनु पर्ने बिचार व्यक्त गरे ।
प्रदेशको सिमांकन मिलाउने बिषयमा विभिन्न विकल्पमा छलफल गर्न तयार रहेको तर अहिलेकै प्रदेश संख्यामा विवादित झापा, मोरङ सुनसरी तथा कैलाली कञ्चनपुरको माथिल्लो खण्ड विभाजन गरेर समाधान खोज्न सकिने उनको भनाई थियो । उनले भने ‘सीमानाहरु फेरबदल भइरहन्छन् । संख्या पनि थपघट हुन्छ । तर सैद्धान्तिक विषय मिलेपछि सहमति खोज्न सकिन्छ ।
यो विषयमा नेपालका सबै राजनीतिक दलहरु सहमत भएर अघि बढ्नु पर्छ ।’ उनले नेकपा एमाले पनि सहमतिमा आउने विश्वास व्यक्त गर्दै कुनै दलको भन्दा पनि जनताको मुद्दामा छलफल हुने र जनताकै चाहाना अनुसार अघि बढ्नु पर्ने भएकोले अनावश्यक अडानहरु राखिरहन नपर्ने बिचार व्यक्त गरे ।
पत्रकार सम्मेलनमा अध्यक्ष महतोले वर्तमान सरकार मधेश डुवाउने गरी आएको बाढी र डुवान समस्याप्रति उदासिन भएको आरोप लगाए । उनले सरकार छोड्नु पर्दाको पीडाले बेचैन भएर जनताको दुःखमा रमिते बनेको भन्दै सरकारको आलोचना गरे ।
अब बन्ने सरकारमा मधेशी मोर्चा सहभागि नहुने उनले बताए । सरकारमा गएर काम गर्न सकिदैन भन्ने अनुभवका आधारमा आफ्ना अधिकतम सरोकारका बिषयलाई सम्वोधन गर्न सक्ने दललाई समर्थन गरेर बस्ने उनकाे भनाइ थियो ।
सप्तरीको तिलाठी घटना सरकारको सोचको उपज भएको भन्दै दुई देशका जनतालाई भिडाउने काम सरकारकै क्रियाकलापका कारण उत्पन्न भएको दाबी गरे । उनले मधेश डुबाउने गरी बाँध बनाएको कुरा थाहा पाएर पनि भारत सरकारसँग छलफल गरी समाधान नखोजेका कारण अहिलेको अवस्था उत्पन्न भएको र अब दुई देशबीच वार्ता गरेर समस्या समाधानकालागि पहल गर्नुपर्ने बिचार व्यक्त गरे ।
सदभावना पार्टीले डुवानग्रस्त क्षेत्रमा राहात, उद्दार र आवश्यक सहयोग गर्दै अभियान सुरु गरेको छ । अध्यक्ष महतोले शनिवार विराटनगर क्षेत्रका डुवान पीडितहरुलाई राहात वितरण गरेको र कञ्चनपुरसम्मै यस्तो राहात वितरण गर्ने कार्यक्रम रहेको जानकारी दिए ।