काठमाडौं / गाउँ पर्यटन प्रर्बद्धन मञ्च (भिटोफ नेपाल) मा हुन गईरहेको महाधिवेशनका लागि उम्मेद्वारी दर्ता भएको छ । अध्यक्षमा कमल सापकोटा निर्विरोध भएका छन् । यस अघि बलिया उम्मेद्वारको रुपमा लिइएको वर्तमान महासचिव राजकुमार थापाले आफ्नो उम्मेद्वारी फिर्ता लिएर सापकोटालाई समर्थन गरेसंगै भिटोफले उनलाई निर्बिरोध अघि सारेको हो । यस्तै प्रथम उपाध्यक्षमा राम घले, द्धितिय उपाध्यक्षमा दिपक दाहाल, महासचिवमा बासुदेव पाण्डे, सह कोषाध्यक्षमा कृष्ण बहादुर सुवेदी पनि निर्विरोध भईसकेका छन् । त्यसैगरि सदस्यहरुमा हरिचन्द्र गैरे, सञ्जिव श्रेष्ठ, कुल प्रसाद सुवेदी, जंग बहादुर लामा र प्रकाश अर्याल पनि निर्विरोध भएका छन् । अवको चुनाव भनेको सचिवमा जस्था पाण्डे र आशुतोष प्रधान, कोषाध्यक्षमा दिपक खनाल र गगनराज न्यौपानेबीच रहेको छ । तर अहिलेको आकर्षण कोषाध्यक्षबीचको भिडन्तमा देखिएको छ । आज दिउंसो साढे चार बजेसम्म उम्मेद्वारी फिर्ता लिने समय भएपनि दुवै कोषाध्यक्षका उम्मेद्वारले चुनाव लड्ने दावी गरेसंगै भिटोफको माहोल अहिले तातेको हो । दिपक खनाल अहिलेका वर्तमान कोषाध्यक्ष हुन् भने गगनराज न्यौपाने कार्यकारी सदस्यबाट कोषाध्यक्षमा आउन लागेका हुन् । खनाल नयां शक्तिको समर्थन सहित उठ्ने बताएपनि अहिले स्वतन्त्र रुपमा छन् भने न्यौपानेलाई तीनै ठूला पार्टीसहित वर्तमान महासचिव राजकुमार थापाको साथ मिलेको छ । न्यौपाने कांग्रेस निकट समेत हुन् । भिटोफको बर्तमान कार्यसमिति सदस्य रहेका न्यौपानेले आफूले दुई बर्षे कार्यकालमा रहँदा ग्रामिण पर्यटनसँग सम्बन्धीत विभिन्न क्षेत्रको अध्ययन अवलोकन गरेको र ति क्षेत्रहरुको विकास सम्बन्धमा नयाँ योजनाका साथ अघि बढ्ने उदेश्यका साथ उमेद्धवारी घोषणा गरेको बताए । गाउँपर्यटन प्रबर्धन मञ्च (भिटोफ नेपाल) २०५४ सालमा स्थापना भएको पर्यटन व्यवसायीहरुको संस्था हो । भिटोफले गाउँमा देखिएका सम्भावित पर्यटकीय आकर्षणहरुलाई प्रर्बद्धन गर्ने गर्छ । भिटोफको साउन १६ गते हुने चुनावले नयाँ कार्य समिति चयन गर्नेछ । भिटोफमा ६ सयभन्दा बढी सदस्य रहेका छन् । उनीहरु सबैले महाधिवेशनमा मतदान गर्ने छन् ।