काठमाडौँ / राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई पार्टीले दिँदै आएको समर्थन फिर्ता लिएको छ ।
पार्टीका वरिष्ठ नेता पशुपतिशम्शेर राणाको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय चावहिलमा आज बसेको बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी दुई मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको पार्टीका सहप्रवक्ता किरण गिरीले जानकारी दिए ।
राप्रपाबाट श्रम तथा आपूर्तिमन्त्रीको जिम्मेवारी दीपक बोहोरा र वाणिज्य मन्त्रालयको नेतृत्व जयन्त चन्दले सम्हाल्दै आएका थिए ।
बैठकले व्यवस्थापिका–संसद्मा टेबल गरेको अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्न पार्टीको विधानअनुसार संसदीय दललाई निर्देशन दिने निर्णय गरेको छ । उक्त पार्टीबाट व्यवस्थापिका–संसद्मा १२ जना सांसदले प्रतिनिधित्व गरेका छन् ।
यता उपप्रधानमन्त्री विजयकुमार गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएको जनाएको छ । तीनकुनेस्थित दलको कार्यालयमा शनिबार साँझ बसेको बैठकले समर्थन फिर्ता लिदै संसदमा माओवादी र कांग्रेसले दर्ता गरेको अविश्वास प्रस्तावको पक्षमा उभिने समेत निर्णय गरेको पार्टीका वरिष्ठ उपाध्यक्ष रामेश्वर राय यादवले बताए बताए । ‘पार्टीले सरकारलाई दिंदै आएको समर्थन फिर्ता लिएको छ,’ उनले भने, ‘हामी राष्ट्रिय सहमतिको वातावरण बनाउनका लागि खुला छलफल गर्न तयार छौं । अविश्वास प्रस्तावको पक्षमा भोट हाल्छौं ।’ संसदमा फोरम लोकतान्त्रिकको १४ सिट छ । रासस