धरान / नेपाली कांग्रेसका जननेता तथा संस्थापक नेता बीपी कोइरालाको ३४ औं स्मृति दिवसको अवसरमा धरानमा वृक्षारोपण गरिएको छ ।देशभरी उनको स्मृतिमा आज वृक्षारोपण, अन्तरक्रियालगायतका कार्यक्रम गरेर नेपाली कांग्रेसले आफ्नो संस्थापक नेतालाई स्मरण गरिरहेका छन् । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हातामा रहेको पुनस्र्थापना गृहको वरिपरी २ सय विभिन्न प्रजातिका विरुवाहरु रोपेका हुन् । टीक, रुद्राक्ष, मसला काठलगायतका विरुवाहरु रोपिएको आयोजक नेपाली कांग्रेस धरान नगर समितिका सचिव श्याम पोखरेलले बताए । उनले हरेक वर्ष विचार गोष्ठी गर्ने गरेको भए तापनि यसवर्ष पर्याबरणलाईसमेत ध्यानमा राख्दै वृक्षारोपण गरिएको बताए । कांग्रेसका क्षेत्रीय सभापति एवं कार्यक्रमका प्रमुख अतिथि शुरेसमान श्रेष्ठ र प्रतिष्ठानका उपकुलपति प्रा.डा. बिपी दासले संयुक्त रुपमा विरुवा रोप्दै कार्यक्रमको प्रारम्भ गरेका थिए । कार्यक्रममा जिल्ला, नगरका नेता कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो भने कार्यक्रमको सभापति नगर सभापति तिलक राईले गरेका थिए । कोइराला कांग्रेसका संस्थापक नेतासँगै जननिर्वाचित प्रथम प्रधानमन्त्रीसमेत हुन् । उनी साहित्यकारसमेत हुन् । उनी देशविदेशमासमेत उनको पहिचान साहित्यकार, राजनीतिज्ञको रुपमा परिचित छन् ।