काठमाडौँ / Rambahadur-Thapa-Badalमोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) शनिबार औपचारिक रुपमा विभाजित भएको छ । कुपण्डोलस्थित माओवादीको नेवा राज्य समितिको कार्यालयमा बसेको केन्द्रीय समितिको बैठकमा वैद्य उपस्थित नभएपछि रामबहादुर थापा ‘बादल’ लाई अध्यक्ष बनाउँदै क्रान्तिकारी माओवादी विभाजित भएको हो ।
पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको एकीकृत माओवादीसँग एकताका विषयमा कुरा नमिलेपछि बादल नेतृत्वमा क्रान्तिकारी माओवादी विभाजित भएको हो । शनिबार कुपण्डोलमा बसेको बैठकमा १ सय १५ जना केन्द्रीय सदस्यको उपस्थिति र एक सय ३० केन्द्रीय सदस्यको समर्थन दाबी गर्दै बादललाई अध्यक्ष घोषणा गरेको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन ।
बादल पक्षले गत वैशाख २८ गते एमाओवादीसँग पार्टी एकता गर्ने तयारी गरेको थियो तर वैद्यलाई मनाउन भन्दै शनिबारसम्मका लागि बैठक स्थगित गरेको थियो । अध्यक्ष वैद्यलाई मनाउने अन्तिम प्रयाससमेत असफल भएपछि बादल समूहले बादललाई अध्यक्ष बनाएर एमाओवादीसँग एकता गर्ने निर्णय गरेको हो । एमाओवादीसँग एकताका लागि बादलको नेतृत्वमा वार्ताटोली बनाएर एकता प्रक्रिया टुङ्गोमा पु¥याउने निर्णय गरिएको प्रवक्ता भुसालले बताइन् ।
 भुसालले भनिन्, ‘एकताका लागि वार्ताटोली बनाएर सम्पूर्ण विषय टुङ्गो लगाएर औपचारिक रुपमा एमाओवादीसँग एकता हुन्छ ।’ भुसालले एमाओवादीसँग मात्र नभएर सबै माओवादीसँग एकताको प्रयास हुने बताइन् । उनले सम्पूर्ण माओवादीसँग एकताका लागि वैद्यलाई छाडेको जानकारी दिइन् ।