धनकुटा(ब्लाष्ट) निजामति सेवामा आदिवासी जनजाति समुदायका युवायुवतीको पहुँच अभिवृद्धि गर्ने उद्देश्यले धनकुटामा सञ्चालित नासु स्तरको निःशुल्क लोकसेवा तयारी कक्षा सम्पन्न गरिएको छ ।
आदिवासी जनजाति महासङ्घको जिल्ला समन्वय परिषद्को आयोजना र जनजाति समन्वय समिति धनकुटा जिविसको सहयोगमा सञ्चालित १५ दिने कमाण्डो कोर्समा २५ जना युवायुवती सहभागी थिए । समापन समारोहका प्रमुख अतिथि स्थानीय विकास अधिकारी गणेशप्रसाद दाहालले निजामति सेवालाई समावेशी बनाउन सरकारले पछिल्लो समयमा लोकसेवा तयारी कक्षाहरुमा लगानी गरिरहेको बताए । सो अवसरमा बोल्दै उनले राज्यले आदिवासी जनजातिमाथि गरेको लगानी निजामति सेवाको समावेशी संरचनाका लागि भएको जिकीर गरे । दाहालले आपूmले लोकसेवा उत्तीर्ण गर्दाको अनुभव, लोकसेवा परीक्षाको तयारी, परीक्षामा सोधिने प्रश्न र विषयवस्तुबारे सहभागीलाई जानकारी गराएका थिए ।
महासङ्घको जिल्ला समन्वय परिषद्का अध्यक्ष सञ्जयसन्तोषी राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महिला महासङ्घकी जिल्ला अध्यक्ष पार्वती राई, नेपाल शेर्पा सङ्घका अध्यक्ष प्रेमसाङ्गे शेर्पा, किराँत आठपहरिया समाजका जिल्ला अध्यक्ष अष्टबहादुर आठपहरियालगायतले पनि बोलेका थिए । आदिवासी जनजाति पत्रकार महासङ्घका धनकुटा अध्यक्ष सन्तवीर लामाले सञ्चालन गरेको कार्यक्रममा सङ्घको नगर समन्वय परिषद्का अध्यक्ष गोपाल लिम्बूले स्वागत मन्तव्य राखेका थिए ।
तयारी कक्षा जिविसको जनजाति समन्वय समितिअन्तर्गत जनजाति उत्थान कार्यक्रमको ५० हजार रुपयाँको सहयोगमा सम्पन्न भएको महासङ्घले जनाएको छ । यसअघि महासङ्घको नगर समन्वय परिषद्ले पनि एकमहिने निःशुल्क लोकसेवा तयारी कक्षा सम्पन्न गरेको थियो ।