विराटनगर । विराटनगरमा विद्यार्थी बस्ने डेरा (कोठा) लाई नै लागूऔषध कारोबारको अखडा बनाइएको खुलेको छ ।
विराटनगर-११ पिछरामा भाडामा लिइएका दुई कोठाबाट एक वर्षदेखि ब्राउनसुगरको कारोबार भइरहेको अवस्थामा एक भारतीय नागरिकसहित तीनजना पक्राउ परेपछि डेरा कोठामै बसेर लागूऔषधको सञ्जाल सञ्चालन भइरहेको तथ्य बाहिर आएको हो ।
लागूऔषध नियन्त्रण ब्युरो र जिल्ला प्रहरी कार्यालय मोरङको संयुक्त टोलीले बुधबार गरेको कारबाहीमा भारत घर भएका मनोहरद यादव, सुनसरीको देवानगञ्ज गाउँपालिका-२ यादव टोलका अरविन्द यादव र अनिल यादव पक्राउ परेका हुन् । उनीहरू बसेको कोठाबाट प्रहरीले करिब एक सय ग्राम ब्राउनसुगर बरामद गरेको जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ परेकाहरूले विराटनगर-११ मा दुईवटा कोठा भाडामा लिएका थिए । ती कोठा विद्यार्थी बस्ने प्रयोजनमा प्रयोग हुँदै आएका थिए । प्रहरीको प्रारम्भिक अनुसन्धानमा भारतीय नागरिक मनोहरदले भारतबाट लागूऔषध ल्याउने र विराटनगरमा रहेका अरविन्द र अनिलमार्फत् स्थानीय प्रयोगकर्तासम्म पुर्याउने गरेको खुलेको छ ।
“कोठाबाट ब्राउनसुगर फेला परेपछि थप अनुसन्धानका लागि तीनै जनालाई नियन्त्रणमा लिएका हौँ” मोरङ प्रहरीका प्रवक्ता डिएसपी मकेन्द्रकुमार मिश्रले भने, “घटनाबारे थप अनुसन्धान भइरहेको छ ।”
प्रहरीले बरामद गरेको लागूऔषधसहित पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखेर अनुसन्धान अघि बढाएको छ । उनीहरूको सम्पर्कमा रहेका अन्य व्यक्ति तथा लागूऔषध ल्याउने स्रोतबारे पनि प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रहरी अनुसन्धानमा खुलेको अर्को महत्वपूर्ण पक्ष भनेको कारोबारका लागि प्रयोग गरिएको स्थान हो । विराटनगर-११ मा उनीहरूले लिएको घर बेचन मेहताको रहेको प्रहरीले जनाएको छ । घरधनीले क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई लक्षित गरी मासिक तीन हजार रुपैयाँ भाडामा कोठा उपलब्ध गराएका थिए ।
बाहिरबाट हेर्दा सामान्य विद्यार्थी डेराजस्तो देखिने कोठा लामो समयदेखि लागूऔषध कारोबारका लागि प्रयोग भएको प्रहरीको दाबी छ । यसले विराटनगरमा लागूऔषध कारोबार गर्ने समूहले होटल, रेस्टुरेन्ट वा खुला स्थान मात्र नभई सामान्य आवासीय कोठालाई समेत सुरक्षित ठान्दै प्रयोग गर्न थालेको देखाउँछ ।
ब्राउनसुगर सामान्यतया अत्यन्त जोखिमपूर्ण लागूऔषधका रूपमा लिइन्छ । यसको सेवनले तत्काल मानसिक तथा शारीरिक असर पार्न सक्छ भने नियमित प्रयोगले निर्भरता बढाउँदै स्वास्थ्यमा गम्भीर समस्या निम्त्याउन सक्छ । मात्रा र शुद्धतामा हुने अनिश्चितताका कारण प्रयोगकर्तामा विषाक्तता तथा ज्यानै जाने जोखिमसमेत हुन्छ । यही कारण यसको अवैध ओसारपसार र बिक्रीलाई कानूनले गम्भीर अपराध मानेको छ ।
भारतबाट ल्याएर विराटनगरमा बिक्री
प्रहरीको प्रारम्भिक अनुसन्धानले घटनालाई स्थानीयरूपमा मात्र सीमित कारोबार नभई सीमापार आपूर्तिसँग जोडिएको सङ्केत गरेको छ । भारतबाट लागूऔषध ल्याएर विराटनगरमा भण्डारण गर्ने र त्यसपछि स्थानीय प्रयोगकर्तासम्म पुर्याउने गरिएको प्रहरीको भनाइ छ ।
मोरङ भारतसँग जोडिएको जिल्ला भएकाले सीमावर्ती नाका हुँदै विभिन्न प्रकारका लागूऔषध भित्रिने गरेको प्रहरी अनुसन्धानबाट समय-समयमा खुल्दै आएको छ । विराटनगर भने पूर्वी नेपालका विभिन्न जिल्लाबाट आउने युवाको प्रमुख गन्तव्यसमेत भएकाले लागूऔषध कारोबार गर्ने समूहका लागि बजार बन्ने जोखिम रहन्छ ।
पक्राउ परेका तीनजनाको बयान, उनीहरूको सम्पर्क, मोबाइल फोन तथा आर्थिक कारोबारलगायतका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनीहरूले भारतबाट लागूऔषध कसरी ल्याउँथे, कस-कससँग सम्पर्क थियो र विराटनगरमा कसलाई बिक्री गर्थे भन्ने विषय अनुसन्धानको मुख्य पाटो बनेको छ ।
एक सय ग्राम ब्राउनसुगर बरामद हुनुका साथै लामो समयदेखि एउटै स्थानबाट कारोबार भएको देखिएपछि प्रहरीले यसलाई सामान्य व्यक्तिगत प्रयोगभन्दा फरक कोणबाट अनुसन्धान गरिरहेको छ ।
प्रहरीले उनीहरूको सम्पर्क सञ्जाल पहिचान गर्नसके कारोबारमा संलग्न अन्य व्यक्तिसमेत पक्राउ पर्नसक्ने जनाएको छ ।


































