धरान । धरान उपमहानगरपालिका–१६ स्थित पौडेल चोकबाट प्रहरीले लागूऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बुधबार राती लागूऔषध कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले शंकास्पद व्यक्तिहरूलाई चेकजाँच गरेको थियो । जाँचका क्रममा उनीहरूको साथबाट विभिन्न ६२६ वटा लागूऔषधजन्य ट्याब्लेट तथा क्याप्सुल बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा धरान–१३ का २२ वर्षीय अनिष तामाङ, धरान–१३ कै १८ वर्षीया प्रतिमा राजधामी, धरान–१६ का १८ वर्षीय निराजन तामाङ, पाँचथरको फिदिम नगरपालिका–१ का २१ वर्षीय पुरप राना मगर तथा सोही स्थानका २१ वर्षीय अबिनाष थापा मगर रहेका छन् । प्रहरीले उनीहरूलाई बरामद लागूऔषधसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसनधान सुरु गरेको छ ।