विजयपुर । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट दुई बिचौलिया पक्राउ परेका छन् ।


बिरामीलाई भ्रममा पारी निजी अस्पतालमा पठाउँदै अवैध कमिसन लिने कार्यमा संलग्न रहेको आरोपमा दुई जना बिचौलिया पक्राउ परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार असार २२ गते झापाको दमक नगरपालिका–१ कुमालचोकका ४२ वर्षीय प्रविण पोखरेल र सुनसरीको हरिनगरा गाउँपालिका–४ का २७ वर्षीय दीपक रामलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्रबहादुर खड्काका अनुसार उनीहरूलाई राति बीपी प्रतिष्ठानको आकस्मिक (इमर्जेन्सी) भवन अगाडि शंकास्पद गतिविधि गरिरहेको अवस्थामा नियन्त्रणमा लिइएको हो ।


प्रहरीले उनीहरूको शरीर तथा साथमा रहेका सामग्रीको खानतलासी गर्दा बिचौलियाको गतिविधिसँग सम्बन्धित विभिन्न प्रमाण बरामद गरेको जनाएको छ । दीपक रामले बोकेको छालाको पर्सबाट विराटनगरस्थित आर्या न्यूरो अस्पतालका दुई थान भिजिटिङ कार्ड फेला परेको प्रहरीले जनाएको छ । यस्तै, दुवै जनाको मोबाइल फोनमा विभिन्न सरकारी अस्पतालबाट बिरामीलाई दिइएका प्रेस्क्रिप्सन तथा डिस्चार्ज कागजातका तस्बिर, बिरामीहरूको नाम, उमेर, रोगलगायतका विवरण अन्य व्यक्तिलाई पठाइएका सन्देश तथा विभिन्न एम्बुलेन्स चालकहरूको नाम र सम्पर्क नम्बर उल्लेख भएका कागजका तस्बिरहरू समेत फेला परेका छन् ।


प्रहरीका अनुसार लामो समयदेखि बीपी प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीलाई विभिन्न बहानामा निजी अस्पतालतर्फ लैजाने, त्यसबापत आर्थिक लाभ लिने तथा संगठित रूपमा बिचौलियाको गतिविधि सञ्चालन भइरहेको भन्ने जनगुनासो र गोप्य सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो ।


घटनामा संलग्न अन्य व्यक्तिहरूको पहिचान तथा खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जना विरुद्ध अभद्र व्यवहार सम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीबाट १० दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।