भद्रपुर । सरकारले दुई दशक अघिबाट सुरु गरेको ‘हात्तीपाइले’ रोग निवारण अभियान असफल भएको छ । विगतको अभियान असफल भएपछि झापाका ६ वटा पालिकामा पुनः सुरु गरिएको छ ।
जिल्लाका पन्ध्रवटा पालिकामध्ये निवारण हुन बाँकी रहेका अर्जुनधारा र कन्काई नगरपालिका, हल्दीबारी, बाह्रदशी, झापा र कचनकवल गाउँपालिकामा फेरि हात्तीपाइलेविरुद्धको औषधि खुवाउने अभियान थालेको हो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका ल्याव प्राविधिक राम रोकायाले झापा, सर्लाही, रौतहट, बारा र कपिलवस्तुमा औषधि खुवाउन सुरु गरिएको बताए । हात्तीपाइलेविरुद्धको औषधि खुवाउन सुरु गरिएको झापामा चौधाँै पटक भएको उनले जानकारी दिए ।
औषधि खान सर्वसाधारणभन्दा पनि उच्च तहका नागरिक, स्वास्थ्यकर्मी, चिकित्सकलगायतले औषधि नखाइदिनाले हरेक दुई–दुई वर्षमा रगत जाँच गरेर हेर्दा रोगको दर अपेक्षाकृतरूपमा नघटेपछि औषधि खुवाउनु परेको विश्व स्वास्थ्य सङ्गठनका रविन्द्र खनियाले बताए । नेपालमा सन् २००३ देखि हात्तीपाइलेविरुद्धको औषधि खुवाइरहे पनि निवारण गर्न समस्या भइरहेको बताए ।
सरकारले सन् २००३ देखि हात्तीपाइलेविरुद्धको औषधि खुवाउने अभियान सञ्चालन गरेको छ । सन् २००३ देखि २०२० सम्ममा हात्तीपाइले निवारण गर्न लागिपरेको सरकारले अन्ततः निवारण गर्न सकेन । अहिले सरकारले सन् २०३० सम्म हात्तीपाइले निवारण गर्ने लक्ष्य राखेको उनले जनाए । नेपालका ६४ जिल्लामा सञ्चालन गरिएको यो अभियान ५७ जिल्लामा बन्द गरिसकेको उनले बताए ।
झापामा करिब ३ लाख नागरिकलाई औषधि खुवाइने
झापामा २ लाख ९८ हजार ५ सय ४ जनालाई यो वर्ष औषधि खुवाइने झापाका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठले जानकारी दिए । उनले दिएको विवरणअनुसार नगरपालिकामध्ये अर्जुनधारामा रहेका ८९ हजार ७ सय ५७ जनसङ्यामध्ये खान हुने ८४ हजार ९ सय ४८ जना, कन्काईमा ५५ हजार ८ सय ८१ मध्ये ५२ हजार ९ सय ५४ जना रहेका छन् ।
त्यसैगरी गाउँपालिकामध्ये झापामा ४० हजार ३ मध्ये ३७ हजार ६ सय, बाह्रदशीमा ३८ हजार ४ सय ४४ मध्ये ३६ हजार ३ सय ३३, हल्दीबारीमा ३३ हजार २ सय ७० मध्ये ३१ हजार ५ सय ३१ र कचनकवलमा ४१ हजार एकसय ४९ मध्ये ३८ हजार ७ सय ७४ जनालाई २ सयभन्दा बढी कर्मचारीबाट औषधि खुवाइने उनले बताए । दुई दिन अघिबाट सुरु भएको यो अभियान दुई हप्तासम्म चल्ने उनले जानकारी दिए ।
झापामा प्रत्येक १ हजारमा २ जनामा हात्तीपाइले रोग
स्वास्थ्य कार्यालय झापाले दिएको विवरणअनुसार झापामा प्रत्येक १ हजारमा २ जनामा हात्तीपाइले रोग रहेको जनाएको छ । जिल्लामा हाल २२ सय ६९ जना रोगी रहेको जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठले जानकारी दिए । जसमध्ये हाइड्रोसिल र स्तन सुन्निने १३ सय ५२, खुट्टा तथा हात सुन्निने ८ सय ४६ र दुवै सुन्निने ७१ गरी २२ सय ६९ रोगी रहेको तथ्याङ्कले देखाएको छ । यो वर्ष सञ्चालनमा रहेका ६ वटा पालिकामा १० दशमलव ५ प्रतिशत व्यक्तिको शरीरमा हात्तीपाइलेको वयस्क परजीवी रहेको उनले जनाए । सोही पालिकामा ५१ प्रतिशत व्यक्तिले रोग अन्यलाई पनि सारिरहेको समेत उनले बताए ।
के हो हात्तीपाइले रोग ?
हातीपाइले रोग मानिसलाई शारीरिक रूपमा अशक्त तथा अपाङ्ग बनाउने एक सरुवा रोग हो । यो रोग एक प्रकारको मसिनो धागो आकारको जुकाजस्तै परजीवीले गराउँछ र यो रोग सङ्क्रमित लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने गर्दछ ।
मानिसको शरीरमा यो परजीवी प्रवेश गरेको केही वर्षपछि मात्र यसका असरहरू (जस्तैः हात्तीपाइले र अण्डकोष सुन्निने) देखिने हुन्छ । यसका लक्षण देखिइसकेपछि निको पार्न सकिँदैन । धेरैजसो सङ्क्रमण लक्षण विनाका हुन्छन्, जसबाट समुदायका अन्य व्यक्तिहरूलाई समेत रोग सर्ने सम्भावना रहने चिकित्सकको भनाइ छ ।
हात्तीपाइलेविरुद्धको औषधि दुई वर्ष उमेर नपुगेका बालबालिकाहरू, गर्भवती र सात दिनसम्मका सुत्केरी, छारे रोगका समस्या भएका व्यक्तिहरू तथा ओछ्यान परेका सिकिस्त बिरामीहरूले खान हुँदैन । सिकिस्त बिरामीहरू भन्नाले रोगका कारण ओछ्यान परेका बिरामीहरू, अस्पताल भर्ना भएका बिरामीहरू र मिर्गौला रोगको लागि डाइलाइसिस जस्ता जीवनभर चिकित्सकीय उपचार सहायतामा बसेका बिरामीहरू बुझ्नु पर्ने चिकित्सकले जनाएका छन् ।
यो औषधि खाली पेटमा खानु हुँदैन । शरीरमा हात्तीपाइले रोगको परजीवी भएका व्यक्तिहरूमा यो औषधि सेवन गरेपछि सामान्य टाउको दुखाइ, वाक्वाकी लाग्ने तथा पेट दुख्ने हुनसक्छ । त्यसो भएमा औषधिले प्रभावकारी रूपमा काम गर्दैछ भन्ने बुझ्नुपर्ने चिकित्सकहरूको भनाइ छ । ती लक्षणहरू भने केही समयमा आफैहराएर जान्छन् । केहीगरी लक्षणहरु लामो समयसम्म रहिरहे नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्ने चिकित्सकको सुझाव छ ।
































