धरान । युएन–नवोदय कलेजले ‘टिचिङ होटल स्कुल’ अवधारणाअनुरूप ‘धराने मोमो’ को व्यापार सुरु गरेको छ ।
धरान–१६ स्थित युएन केक एन्ड बारिस्टामा धराने मोमो सुरुवात गरिएको कलेजका होटल म्यानेजमेन्टका संयोजक गगनमान श्रेष्ठले बुधबार पत्रकार सम्मेलनमा बताए । धरानको मोमोमा विशेष गरी सुपको छुट्टै व्यवस्था रहेको हुन्छ । तर पछिल्लो समय धरानमा सुपसहितको मोमोको स्वाद पाउन छाडिएको छ ।
यही कुरालाई मध्यनजर गर्दै धरानको मौलिक पहिचान बोकेको मोमोलाई प्रवर्धन गर्नका लागि सुरु गरिएको उनले बताए । “मौलिक स्वादलाई प्रवर्धन गर्न सुरु गरेका हौँ”–उनले भने ।
उनका अनुसार धरानमा मोमो पूर्वोत्तर भारतको दार्जिलिङबाट आएको हो । तर त्यहाँबाट भित्रिए पनि धरानले आफ्नै खालको स्वादको मोमो बिक्री गर्दै आएको थियो । “धरानमा मसला कम भएको, प्याज, बोसो र अदुवामिश्रित मोमो बन्ने गरेको छ” उनले भने, “सुप पनि सादा दिने गरिएको छ ।” उनले धरानमा मोमो ब्रिटिस क्याम्पको सुरुवात हुँदै भित्रिएको बताए ।
“नेपालमा मोमो तिब्बतबाट आएको मानिन्छ । तिब्बतबाट काठमाडौँ र दार्जिलिङमा आएको र त्यसपछि अन्यत्र फैलिएको पाइन्छ”–उनले भने । युएन–नवोदय कलेजका प्रमुख डम्बरकुमार तुम्बापोले कलेजले व्यावहारिक शिक्षा र व्यवसायमा केन्द्रित शिक्षा दिने लक्ष्यका साथ विभिन्न आउटलेटहरू स्थापना गर्ने क्रममा मोमोलाई पनि प्रवर्धन गर्न थालिएको बताए ।
“स्कुलको लक्ष्य नै व्यावहारिक शिक्षा र व्यवसाय केन्द्रित शिक्षा दिने लक्ष्य छ” उनले भने, “धराने मोमो पनि सोहीअनुरूप विकास गरिएको हो । रैथाने खानालाई प्रवर्धन गर्ने लक्ष्य लिएका छौँ ।” उनले व्यवसायभन्दा पनि विद्यार्थीहरूलाई पनि सिक्नका लागि सहज होस् भन्ने उद्देश्यले टिचिङ होटल स्कुलको अवधारणाअनुसार ल्याएको हो ।
































