विजयपुर । प्राइम बैङ्कले वराह सहकारीको सम्पत्ति जग्ग्गा लिलामीको प्रक्रिया अघि बढाए पछि सहकारी पीडितहरू सडकमा उत्रिएका छन् । 

आइतबार सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासङ्घमा आबद्ध सहकारी पीडितहरू सरकार तथा सहकारी सञ्चालकविरुद्ध टायर बालेर धरानको भानुचोकमा विरोध जनाए । धरान उपमहानगरपालिका भित्रका विभिन्न सहकारी पीडितहरू नाराबाजी पनि गरेका छन् । 

सहकारी पीडित खेम विश्वकर्माले प्राइम बैङ्कले वराह सहकारीको जग्गा लिलाम प्रक्रिया अघि बढाएको बताउँदै भने, ‘बैङ्क र सहकारी सञ्चालकको मिलेमतोमा लिलाम बिक्रीको प्रक्रिया सुरु गरियो ।’ उनले प्राइम बैङ्कलाई लिलाम बिक्री अगाडि नबढाउन आग्रह गरे । सहकारी पीडित थङ्ग राईले वराहले जग्गा दिने नाममा पीडितलाई थप ठगी गरेको बताए । 

उनले सहकारी सञ्चालक, प्रशासनको मिलामतो रहेको आरोप लगाउँदै भने, ‘सहकारीमा पीडितहरू पुग्नुभन्दा पहिले सुरक्षा दिन प्रशासन पुग्छ ।’ राप्रपाका नेता तथा सहकारी पीडित अशोक अविरलले राईले राज्यले सहकारी सञ्चालकलाई कारबाही गर्न नचाहेको बताए । उनले राज्यले सहकारी ठगलाई पक्राउ गरी पीडितको रकम फिर्ता गराउनुपर्ने बताए । पीडितहरू हाम्रो रकम फिर्ता गर, प्राइम बैङ्क मुर्दावादलगायत लेखिएको प्लाकार्ड बोकेका थिए ।