चुरे संरक्षण आजको आवश्यकता हो । चुरे संरक्षणमा जति ढिला हुँदै जान्छ, उति त्यसको क्षति व्यहोर्दै जानुपर्ने हुन्छ । चुरे दोहनले अहिले जे जस्ता समस्याहरु निम्त्याउँदैछ । भविष्यमा झन् विकराल समस्या निम्त्याउने निश्चित छ । किनकि चुरे मात्रै समस्या बनिरहेको छैन । अहिले विश्व तापमानको असर पनि व्यापक बन्दै गइरहेको छ । यी असरहरुले झनै चुरेलाई थप बोझिलो बनाउनेछ भने त्यसको असर चुरे क्षेत्रमा बस्ने नागरिक र मधेशमा बस्ने नागरिकले भोग्नुपर्ने छ । त्यसो त अहिले पनि यो समस्या भोगिरहेका छन् । चुरे संरक्षणका लागि भन्दै मधेश प्रदेशका विभिन्न जिल्लाबाट पच्चीस दिन हिँडेर काठमाडौँको माइतीघर मण्डलामा धर्ना दिनुले नै त्यो कुरा प्रष्टिन्छ । सप्तरी, सिरहा, धनुषा, महोत्तरीलगायतका जिल्लाबाट नागरिकहरुले अहिले जे विषयमा माग गरिरहेका छन् यो हेर्दा राजनीतिक देखिए पनि यो विषय आम समस्याको विषय हो । यसलाई चाँडो निदान गर्नेतर्फ नलाग्ने हो भने भोलि अनेकन् समस्याबाट जुध्नुपर्ने हुनसक्छ ।

चुरे समस्या समाधानका लागि धेरै अघि नै राष्ट्रपति चुरे संरक्षण कार्यक्रम आएको थियो । त्यो कार्यक्रमले केही पहलहरु नगरेको होइन । तर, पर्याप्त भएन । पछिल्लो समय चुरेका लागि छुट्टिँदै आएको बजेट पनि कम्ति कम्ति हुँदै गएको छ । यसले पनि सरकार कति गम्भीर छ भन्ने कुरालाई देखाउँछ । सङ्घीय सरकारले जेठ १५ गते आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम र बजेटमा एक अर्ब पाँच करोड मात्रै छुट्याएको अवस्था छ । यो विगत वर्षभन्दा एक अर्ब १२ करोडले नै कम हो । यस्तो हुनु दुःखद् छ । चुरेलाई आवश्यक संरक्षण गर्नेतर्फ राज्यको ध्यान गएको देखिँदैन । अर्कोतर्फ कतिपय चुरे क्षेत्रमा नै ढुङ्गागिट्टी उत्खनन् भइरहेको अवस्था छ । शिवालिक क्षेत्रमा पर्ने चुरे क्षेत्रहरुबाट ढुङ्गागिट्टी उत्खनन्का लागि स्थानीय सरकारहरुले जे गरिरहेका छन्, त्यो निकै नै दोषपूर्ण छ । केन्द्र सरकार चुरे संरक्षणका लागि बजेट विनियोजन गर्ने अनि प्रदेश र स्थानीय सरकारहरु चुरे क्षेत्रमा पर्ने खोला तथा नदीहरुबाट ढुङ्गागिट्टी उत्खनन् गर्ने परिपाटी हास्यास्पद छ । चुरे संरक्षण नगर्दाको अहिलेको परिणाम तल्लो तटीय क्षेत्रमा खानेपानीको अभाव हुँदै गएको छ । यो समस्या झन् विकराल बन्दै जाने अवस्था छ ।

चुरेमा हुने अधिक दोहनलाई अन्त्य नगर्ने हो भने समस्या झनै बल्झिने देखिन्छ । चुरे क्षेत्र र मधेश क्षेत्रमा अहिलेबाटै खानेपानीका धाराहरु सुक्ने तथा ट्युबेलहरुमा पानी नआउने समस्या दोहनकै परिणाम हो । यसका लागि सबैले जतिसक्दो चाँडो पहल गर्नुपर्छ । यसमा स्थानीय सरकारको भूमिका सबैभन्दा महŒवपूर्ण हुन्छ । स्थानीय सरकारहरुले चुरे क्षेत्रमा पर्ने खोला तथा नदीबाट उत्खनन् पूर्णरुपमा रोक लगाउनु पर्छ । त्यसो गर्न सकेमा मात्रै खानेपानीको समस्यालाई पुनर्भरण गर्न सकिएला, नत्र हरेक वर्ष वातावरण दिवस मनाउने परम्परागत चलन त बसिरहन्छ तर, समस्या कहिल्यै समाधान हुँदैन । आज विश्वको तापमान ह्वारह्वार्ती बढेको अवस्था छ । औद्योगीकरणको उपज हामीले यस्ता समस्याहरु भोगिरहेका छौं । अर्कोतिर चुरे विनाशका कारण अर्को समस्या भोग्दै छौँ । यही अवस्था रहिरहे कालान्तरमा खानेपानी समस्या विशाल समस्याको रुपमा रहने निश्चित छ । यसलाई टुङ्गोमा पु¥याउन सबैको भूमिका अपरिहार्य छ । त्यसमा पनि केन्द्र, प्रदेश तथा स्थानीय सरकारको भूमिका बढी आवश्यक छ । त्यसमा जनता पनि सचेत हुन आवश्यक छ । नत्र भोलि चुरे हाम्रा लागि ठूलो समस्याको रुपमा देखापर्ने निश्चित छ ।