धरान । परिवर्तनका लागि सामाजिक अभियानको पाक्षिक कार्यक्रम ‘सामाजिक स्वास्थ्य क्लिनिक’को ५९ औँ संस्करण शनिबार सम्पन्न भएको छ । 

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रशान्त साहको सहभागितामा हुँदै आएको क्लिनिकमा यस पटक धरान–१३ को जानकी सामुदायिक टोल सुधार समितिले सहकार्य गरेको छ । क्लिनिकमा ६६ जनाले स्वास्थ्य जाँच गरेका छन् भने चारजना फलोअप बिरामीहरू सहभागी भएका थिए । अभियानका अध्यक्ष विष्णु बरालले डा. साहले अभियानलाई तीन वर्षदेखि अटुट रूपमा सहयोग गर्दै आएकै कारणले ५९ औँ संस्करण पूरा गर्न सम्भव भएको बताए । 

अध्यक्ष बरालले डा. साहलाई महाभारतका पात्र कृष्णसँग तुलना गर्दै भने, “कौरब र पाण्डव भएर मात्रै महाभारत सम्भव हुने थिएन । कृष्णको भूमिकाकै कारण पाण्डवको जित सम्भव भएको हो । त्यस्तै नै क्लिनिकको पनि सारथी हुन् डा. साह ।”

७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई लक्षित गरी कार्यक्रम गर्दै आएको छ । इटहरी–२० तरहराबाट पहिलो पटक क्लिनिकमा आइपुगेका योगेश गुरागाईंले उपचारसँगै उचित परामर्श दिँदा रोग नै निको भएको जस्तो लागेको बताए । 

जानकी सामुदायिक टोल सुधार समितिका अध्यक्ष अच्युत पराजुलीले संस्थाले ज्येष्ठ नागरिकका लागि जुन सेवाभावले निःशुल्क क्लिनिक सञ्चालन गरेकोमा धन्यवाद ज्ञापन गरे । उनले आफूले पनि डा. साहसँग परामर्श गराउँदै आएकोले पछिल्लो समय धेरै सहज भइरहेको बताए । 

यसक्रममा समितिले डा. साहलाई मायाको चिनोस्वरूप सम्मान–पत्र प्रदान गरेको थियो । कार्यक्रमका प्रमुख अतिथि निवर्तमान सभामुख प्रदीपकुमार भण्डारीले डा. साहले जस्तोसुकै परिस्थितिमा पनि उपचार सेवा दिने गुण बिर्सनै नसकिने खालको रहेको बताए । उनले आफूले पनि डा. साहसँगै उपचार गराउँदै आएको बताए ।

क्लिनिकमा मधुमेह (सुगर) र उच्च रक्तचाप (ब्लडप्रेसर) को जाँच पनि गराउँदै आएको छ । यसका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत स्टाफ नर्सहरूले सहयोग गर्दै आइरहेका छन् । त्यस्तै औषधि पनि वितरण गरिँदै आएको छ । कार्यक्रममा अभियानका पदाधिकारीहरू पनि सहभागी रहेका थिए भने कानून व्यवसायी शिव भण्डारीको घरमा शिविर राखिएको थियो । 

तीन वर्षे अभियानमा झापा, सुनसरीका विभिन्न स्थानमा क्लिनिक सञ्चालन भइसकेको छ । नियमित पाक्षिक जाँच भने धरान–१ मोडल कलेजमा हुँदै आएको छ ।