धरान । किरात राईहरूको चाड उँभौलीको अवसरमा भोजपुरको बोखिममा चिन्डोको प्रतिमा अनावरण गरिएको छ ।

भोजपुर नगरपालिका–५ का स्वर्गीय कृष्णबहादुर राई र  उनका पत्नीहरू स्वर्गीय तीर्थमाया राई र विष्णुकुमारी राईको स्मृतिमा बोखिम गाउँमा चिन्डोको प्रतिमा स्थापना गरिएको हो । सो प्रतिमाको स्थानीय ज्येष्ठ नागरिक सुरजबहादुर राई र धरान–१२ मयुरचोककी सत्यकला राईको हातबाट अनावरण गरिएको हो ।

किरात बान्तवा बुताङ राई वातुङका पूर्व केन्द्रीय उपाध्यक्ष रत्नकुमार बुताङको अध्यक्षतामा भएको प्रतिमा अनावरण समारोहमा प्रतिमा निर्माण तथा स्थापना गराउने पूर्ण राईले चिन्डोको प्रतिमा बोखिम गाउँबासीको सम्पत्ति भएको भन्दै सबैले संरक्षण गर्नुपर्ने बताए । प्रतिमा निर्माण समितिका सचिव रविन बुताङ राईले स्थानीयवासीले प्रतिमाको संरक्षण गर्ने बताए ।