धरान । किरात राई यायोक्खा सुनसरीले आज (बिहीबार)बाट विभिन्न कार्यक्रम गरेर साकेला उँभौली पर्व भव्यताका साथ मनाउने भएको छ ।

आजदेखि जेठ २६ गतेसम्म जिल्लाभर विभिन्न कार्यक्रम आयोजना गरेर साकेला उँभौली पर्व मनाउन लागिएको हो । सो अवसरमा साकेला थानहरूमा पूजासँगै सिली प्रदर्शन र सम्मान कार्यक्रम आयोजना गर्न लागिएको किरात राई यायोक्खा सुनसरीका अध्यक्ष राजेन्द्र राईले बताए ।

साकेला पर्वको पहिलो दिन आज धरान र इटहरीमा कार्यक्रम राखिएको आयोजकले जनाएको छ । यायोक्खाको १३ नं. कार्य समितिले धरान–१४ विजयपुरमा रहेको हाङबुद्धिकर्ण राईको दरबारमा पूजाआजा गर्ने, इटहरी–५ र ६ ले इटहरीकै जनता क्याम्पसमा कार्यक्रम गर्ने आयोजकले जनाएको छ ।

त्यस्तै किरात राई दुमी फन्सिकिम सुनसरीले धरान–१५ मा कार्यक्रम गर्ने भएको छ । सुनसरीका विभिन्न स्थानमा कार्यक्रम आयोजना गरिएपछि जेठ २६ गते समापनका अवसरमा विभिन्न व्यक्तित्वहरूलाई सम्मान गर्ने कार्यक्रम रहेको छ । जसमा राष्ट्रिय महिला फुटबल खेलाडी प्रिती राई, राष्ट्रिय एथलेटिक्स प्रशिक्षक पार्वत राई, महेन्द्र बहुमुखी क्याम्पस धरानका प्रमुख चन्द्रकुमार राई, इन्जिनियर पारसमणि राईलगायतलाई सम्मान गरिने आयोजकले जनाएको छ ।
कार्यक्रममा ८ लाख ९६ हजार ८४ रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ ।