धरान । इलाम २ मा जारी मतगणनाको प्रारम्भिक मतपरिणामअनुसार मूलधारका पार्टीहरूबीच नै प्रतिस्पर्धा देखिएको छ ।

हालसम्म प्राप्त मतपरिणामअनुसार नेकपा (एमाले) बाट उम्मेदवार बनेका सुहाङ नेम्वाङले अग्रता बढाउँदै लगेका छन् । यो समाचार तयार पार्दासम्म फाकफोकथुम गाउँपालिकाको १, २, ३, ४, ५ र ६ को मतगणना सकिएको छ । हालसम्म आठ हजार ८३ सदर मत गणना गर्दा नेम्वाङले अग्रता कायम गरिरहेको निर्वाचन आयोगको कार्यालयले जनाएको छ ।

छ वडाको मत गनेर सकिँदा नेम्वाङले अग्रता कायम गरिरहेका हुन् । उनले हालसम्म तीन हजार ७ सय ८३ मत ल्याउँदै अग्रता कायम गरेका हुन् । उनी नेपाली काङ्ग्रेसका डम्बरबहादुर खड्काभन्दा एक हजार एक मतले अगाडि छन् । खड्काले दुई हजार सात सय ८२ मत ल्याएका छन् ।

यस्तै पहिचानपक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिम लिम्बूले सात सय ८४ मत प्राप्त गरेका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले पाँच सय ६१ मत पाएका छन् । प्रारम्भिक मतगणनामा भने नेपाली काङ्ग्रेसका खड्काले अग्रता कायम गरेका थिए । शनिबार इलाम २ मा सम्पन्न उपनिर्वाचनमा ७९ मतदानस्थलमा १ सय ४९ वटा मतदान केन्द्र रहेका थिए । एक लाख १५ हजार आठ सय ८० मतदाता रहेकोमा ६९ हजार दुई सय ८७ मतदाताले मतदान गरेका थिए । जसमा ५९ हजार १८ पुरुष, ५६ हजार आठ सय ६९ महिला र दुई जना तेस्रो लिङ्गी मतदाता छन् ।

२०७९ मङ्सिर १४ गतेको प्रतिनिधिसभाको निर्वाचनमा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङले ३० हजार २० मत पाउँदै निर्वाचित भएका थिए । त्यसबेला नेपाली काङ्ग्रेसका खड्काले २९ हजार नौ सय ६ मत प्राप्त गरेका थिए । नेम्वाङ १ सय १४ मतान्तरले विजयी भएका थिए । तर, नेम्वाङको गत भदौ २६ गते हृदयाघातका कारण मृत्यु भएको थियो ।