विराटनगर । कोशी प्रदेश सभा सचिवालयमा पेस भएको सङ्कल्प प्रस्ताव नेकपा (एमाले) र माओवादी केन्द्रले प्रदेश सभामा टेवल भएको छ ।

नेकपा (एमाले) कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बिहीबार प्रदेशसभा समक्ष पेस गरेका हुन् । उनले प्रदेश सभामा सङ्कल्प प्रस्ताव पेश गर्दै संसद्को सर्वोच्चता देखाउन सङ्कल्प प्रस्ताव पेस भएको बताए । उनले सङ्कल्प प्रस्ताव पास हुँदा पनि मुख्यमन्त्रीले मार्ग प्रशस्त नगरे, संसद्को विशेष अधिकार हनन् भए अदालतजस्तो न्यायिक क्षेत्रमा पनि प्रवेश गर्ने बताए ।

उनले सरकारलाई विशेष निर्देशन गर्नका लागि सङ्कल्प प्रस्तावमार्फत् सन्देश दिन संसद्को अधिवेशन आह्वान भएको बताए । उनले असोज २७ गते एमालेका ३९ जना प्रदेश सभा सदस्यले मुख्यमन्त्रीलाई समर्थन गरेको र असोज १ गते विश्वासको मत दिएको तर, परिस्थितिले उनलाई समर्थन र विश्वासको मत दिन नसकेको बताए ।

एमाले र माओवादीले दिएको विश्वासको मत फिर्ता लिएपछि मुख्यमन्त्री अल्पमतमा परेको बताए । ‘संसदीय सर्वोच्चतामा अल्पमतमा परेपछि सरकारमा बस्न मिल्दैन, उहाँ अल्पमतमा परेपछि सरकारको प्रमुख हुन मिल्दैन’–उनले भने । उनले मुख्यमन्त्रीलाई अल्पमतमा परेको देखाउन यो अधिवेशनको आह्वान भएको बताए । उनले भने, ‘अल्पमतमा परेको देखेपछि यो सभा चलेको बेलैमा उहाँले राजीनामा दिनुहुन्छ भन्ने आशा लिएका छौँ ।’

बहुमत सांसद् बसे प्रतिपक्षमा
प्रदेश सभामा एमालेका ४०, माओवादीका १३, राप्रपाका ६ र जसपाका १ गरी ६० सांसद् रहेको दल विपक्षी बेन्चमा बसेका छन् । 

९३ सदस्यीय प्रदेशसभामा काङ्ग्रेसका २९ र नेकपा (एकीकृत समाजवादी) का ४ सांसद् रहेका दुई दल मात्रै सत्ता पक्षको बेन्चमा बसेका छन् । प्रदेश सभाको बैठकमा भने सत्तापक्षका २४ जना सांसद् मात्रै उपस्थित थिए । विपक्षमा भने ५३ जनाको उपस्थिति थियो । यसैबीच प्रदेश सभाको बैठकमा सत्ता पक्षका ९ र विपक्षका ५ सांसद् अनुपस्थित थिए ।