इलाम । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले इलाम क्षेत्र नं. २ मा वैशाख १५ मा हुने उपनिर्वाचनमा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ हारेमा इलामलाई घाटा हुने बताएका छन् ।

बुधबार इलामको मङ्गलबारेमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले त्यस्तो बताएका हुन् । उनले भने, ‘यहाँबाट चुनाव हार्ने हो भने सुहाङलाई होइन, इलामलाई घाटा पर्नेछ । त्यसैले उनले जित्नु पर्छ ।’

ओलीले एमालेमा युवाको पङ्क्ति सामेल गर्नका लागि पनि सुहाङलाई उम्मेदवार बनाएको बताए । सुहाङ योग्य उम्मेदवार भएकाले इलामका मतदाताले मत दिने ओलीको भनाइ थियो । 

ओलीले देशमा एमालेकै कारण सङ्घीयता आएको दाबीसमेत गरे । संविधानमा सङ्घीयता एमालेकै जोडबलमा राखिएको भन्दै उनले पहिचानवादीको लागि एमाले बलियो शक्ति भएको धारणा राखे । सभामा सम्बोधन गर्दै उनले भने, ‘किरात धर्मगुरु फाल्गुनन्दलाई राष्ट्रिय विभूतिको स्थान कसले दियो, एमालेले होइन, अनि अहिले एमालेलाई नै उडाउने ?’

कार्यक्रममा बोल्दै ओलीले वेदको रचना नेपालीका पुर्खाहरूले कोशी र गण्डकी नदीका किनारमा बसेर गरेको बताए । उनले भने, ‘हाम्रो मुन्धुम विदेशबाट बोकेर ल्याएको चिज होइन । हाम्रा पुर्खाले यहीँ रचना र विकास गरेका हुन् । त्यसै गरेर वेद पनि हाम्रा पुर्खाहरूले कोशी र गण्डकी नदीका किनारमा बसेर हाम्रा पुर्खाले रचना गरेका थिए ।’  उनले आफ्ना रचना र प्रगतिप्रति गर्व गर्न सक्नुपर्ने बताए । कसैले पनि अरू धर्मप्रति हेला, अनास्था र घृणा फैलाउन नहुने भन्दै उनले नेपाल एउटा बहुभाषिक, बहुजातीय र बहुसांस्कृतिक देश भएको बताए ।

एमालेका वरिष्ठ नेता सुवास नेम्वाङको निधन भएपछि खाली रहेको इलाम २ मा एमालेले सुवासका छोरा सुहाङलाई उम्मेदवार बनाएको छ ।