विजयपुर । धरान–८ स्थित वराह इन्डष्ट्रिज प्रा.लि.को भवनमा विद्युत् लाइन काटिएको छ ।

वराह इन्डष्ट्रिजले ५ महिनायता विद्युत् महसुल भुक्तानी नगरेकाले विद्युत् लाइन काटिएको विद्युत् प्राधिकरण धरान शाखामा कार्यरत एक कर्मचारीले जानकारी दिए । उनका अनुसार ६ दिनअघि विद्युत् काटिएको हो । ती कर्मचारीका अनुसार वराहले ५ महिनादेखिको १२ लाख रुपैयाँ बक्यौता भुक्तानी गरेको छैन । भुक्तानी नगरेपछि विद्युत् काटिएको हो ।

विद्युत् लाइन काटिएपश्चात् वराहको हलमा सञ्चालित सिनेमा हल पनि बन्द भएको छ । सिनेमाले हल मर्मत गरेकाले सिनेमा नलागेको बताउँदै आएको छ । वराहको धरान–८ कै भवनमा वराह बचत तथा ऋण सहकारी संस्थाको कार्यालय रहेको छ । कार्यालय भवनको नै विद्युत् महसुल बुझाउन नसकेर लाइन काटिएपश्चात् वराहलाई कारबाही गर्नुपर्ने माग राख्ने सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानले प्रश्न उठाएको छ ।

अभियानमा आबद्ध पुकार शाक्यले भने, ‘भूपू लाहुरेसहितको समन्वय समितिले सञ्चालन गरिरहेका छौँ भन्छन् । कार्यालयको विद्युत् महसुल भुक्तानी गर्न नसकेर लाइन काटियो । सञ्चालन गर्छौं भन्ने समूह वराह सञ्चालकलाई जोगाउन लागेकोजस्तो देखिन्छ । वराह सहकारी सञ्चालन गर्न होइन ।’

सङ्घर्षरत समूहको स्वार्थले उपमहानगरपालिका प्रमुख हर्कराज राई पनि भूपू लाहुरेहरूसँग नजिक भएकाले वराह सहकारीलाई सङ्कटग्रस्त घोषण गरी कारबाही गर्न नसकेको पनि अभियानकर्मीको आरोप छ । अभियानमा आबद्ध शाक्यले लाहुरेहरू पहुँचवाला भएकाले लाहुरेहरूको कुरा सुनेर उपमहानगरले पनि वराह सहकारीलाई कारबाहीको प्रक्रिया अघि नबढाएको बताए ।

शाक्यले श्याम ढकाल नेतृत्वको भूपू लाहुरेहरूको समन्वय समितिको टिम पनि जग्गावालासँग मिलेर हिँडिरहेको बताउँदै भने, ‘समन्वय समितिका व्यक्तिहरूले पनि छाड्न थालेका छन् ।’ यस विषयमा बुझ्न भूपू लाहुरे सम्बद्ध समन्वय समितिका अध्यक्ष श्याम ढकाललाई फोन सम्पर्क गर्दा उठाएनन् । *


*सम्पादित