इन्डोनेसियाको पश्चिम जाभा प्रान्तस्थित गाउँमा आइतबार पहिरो जाँदा एक जनाको मृत्यु हुनुका साथै  बालबालीकासहित नौ जना बेपत्ता भएको स्थानीय अधिकारीले सोमबार बताएका  छन्।पश्चिम बान्दुङ रिजन्सीको सिबेन्डा गाउँमा आइतबार करिब दुई घन्टासम्म भारी वर्षा भएपछि पहिरो जाँदा उक्त दुखद् घटना भएको स्रोतले जनाएको छ। 

पश्चिम बान्दुङका कार्यवाहक रिजेन्ट अर्सन लतिफले पहिरोमा नौ जना गाउँलेहरू पुरिएको आशङ्का गरिएको बताएका छन्। यसै क्रममा उद्धारकर्ताहरूले सोमबार बिहान पहिरो र घरको भग्नावशेषबाट एक मृत महिलालाई निकालिएको उनले बताएका छन्।

उनले दुर्घटनामा दर्जनौँ घरहरू ध्वस्त भएपछि करिब ४ सय गाउँलेहरू अस्थायी आश्रयस्थलमा शरण लिन पुगेका छन्।