विराटनगर । काठमाडौँको टेकस्पायर कलेजले विराटनगरस्थित शिक्षादीप कलेजका विद्यार्थीहरूको लागि छात्रवृत्ति प्रदान गरेको छ ।

टेकस्पायर कलेजले शिक्षादीप कलेजका विद्यार्थीहरूको लागि शुक्रबार ५० लाख बराबरको छात्रवृत्ति प्रदान गरेको हो ।उक्त छात्रवृत्ति कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्कालाई टेकस्पायर कलेजका सिईओ स्मरण दवाडीले चेक हस्तान्तरण गरे । शिक्षादीप कलेजबाट कक्षा १२ पास गरेर काठमाडौंको टेकसपायर कलेजमा ब्याचलर लेभलको अध्ययनका लागि जाने विद्यार्थीहरूले उक्त रकमबाट छात्रवृत्ति पाउने जनाइएको छ ।

कार्यक्रममा बोल्दै शिक्षादीप कलेजका प्रिन्सिपल खड्काले यो छात्रवृत्ति विद्यार्थीहरूको लागि सुनौलो अवसर भएको बताए । उनले आगामी दिनमा पनि शिक्षादीपमा अध्ययन गरेजस्तै मिहिनेत गर्न आग्रह गरे । खड्काले शिक्षादीप कलेज कोशी प्रदेशमा कक्षा ११ मा सबैभन्दा बढी विद्यार्थी भर्ना हुने कलेज भएको दाबी गरे । साथै हरेक वर्ष नतिजा पनि उत्कृष्ट आउने गरेको बताए ।

टेकस्पायर कलेजका सञ्चालक एवम् कोड हिमालयका सिईओ दवाडीले नेपालमै पनि सफ्टवेयर टेक्नोलोजीको ठूलो बजार र सम्भावना रहेको बताए । सूचना प्रविधि क्षेत्रका लागि टेकस्पायर कलेजले हरेक वर्ष १ करोड रुपैयाँ छात्रवृत्तिका लागि बाँड्दै आएको जानकारी दिए । त्यसको मूल उद्देश्य आफ्नै कम्पनीका लागि दक्ष जनशक्ति उत्पादन गर्नु रहेको बताए ।

शिक्षादीप कलेजबाट प्लस टु सकेर ब्याचलरमा इन्फरमेसन टेक्नोलोजी, साइन्स र व्यवस्थापन जुनसुकै सङ्कायमा पनि पढ्नका लागि जाने विद्यार्थीहरूले ५० लाख रुपैयाँबाट छात्रवृत्ति पाउने बताए ।

कलेजले प्रदान गरेको छात्रवृत्तिमा आर्थिक विपन्न, जेहेन्दार, दलित, अपाङ्गता भएका विद्यार्थीहरूले उक्त छात्रवृत्तिमा टेकस्पायर कलेजमा अध्ययन गर्न पाउनेछन् ।

सोही अवसरमा शिक्षादीप कलेजले आयोजना गरेको कविता प्रतियोगितामा प्रथम हुने एन्जल राई, द्वितीय रितेश भट्टराई र तृतीय स्मृति मल्लिकलाई पुरस्कार तथा प्रमाण–पत्र प्रदान गरिएको थियो ।

विद्यालयबाट बिदाइ भएका विद्यार्थीहरूलाई शिक्षादीप कलेजका अध्यक्ष एवम् कोशी प्रदेश सभा सदस्य भीम पराजुलीले शुभकामना दिएका थिए । पराजुलीले कलेजले प्रदान गरेको छात्रवृत्ति रकम आठ जना विद्यार्थीहरूलाई हस्तान्तरण गरेका थिए । त्यसैगरी शिक्षादीप कलेजले कक्षा १२ का विद्यार्थीहरूलाई बिदाइ गरेको छ ।

१५ औं ब्याचका विज्ञान र व्यवस्थापन सङ्कायका १ हजार ५० जना विद्यार्थीहरूलाई बिदाइ गरेको कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले जानकारी दिए । कार्यक्रममा बोल्दै कलेजका प्रिन्सिपल खड्काले कक्षा १२ को बोर्ड परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफलताको शुभकामना दिए ।

कार्यक्रममा विज्ञान सङ्कायका को–अर्डिनेटर नवीनकुमार रोय, व्यवस्थापन सङ्कायका को–अर्डिनेटर शङ्कर भट्टराई, निर्देशक भूपेन्द्र  दाहाल, रमेशकुमार मण्डल, शैलेन्द्र सिवाकोटी, राजेन्द्रप्रसाद यादव र ललितनारायण मन्दार, रामचन्द्र पौडेललगायतले विद्यार्थीहरूलाई सफलताको शुभकामना दिए ।