वराहक्षेत्र-२ स्थित सगरमाथा युवा क्लबले 'रंगसँग साहित्य' कार्यक्रम आयोजना गरेको छ ।

होली पर्वका अवसरमा स्थानीय दर्जन बढी कविले मञ्चमा कविता प्रस्तुत गरे । कविहरुले मन्चमा होली पर्व र राष्ट्रियताले ओतप्रोत कविता सुनाएका थिए ।

कवि प्रह्लाद भट्टराईले 'आमा र होली' शीर्षकको कविता वाचन गरे । कवि ज्ञानु पाण्डेले 'त्यो त यही नेपाली रहेछ' शीर्षकको कविता सुनाए । युवराज भट्टराई 'विदुर' ले 'नव यौवन र होली' शीर्षकको कविता वाचन गरे ।

मन्चमा कविहरु दीपा मग्राती, पूष्पा बोगटी, बलराम नेपाल, उदय ठटाल, अच्युतानन्द खतिवडालगायतले आफ्ना सिर्जना सुनाए ।

सगरमाथा क्लबले होली पर्वको अवसरमा साहित्यकार तथा कविहरुसँग भेटघाट तथा मिलन कार्यक्रम गर्ने उद्देश्यले 'रंगसँग साहित्य' कार्यक्रम आयोजना गरेको क्लबका सचिव गोविन्द नेपालले जानकारी दिए ।

कार्यक्रममा साहित्यानुरागीहरु ओमकुमार शर्मा, इन्द्रहाङ खम्बू, शान्तिराम खतिवडालगायतले शुभकामना मन्तव्य राखे । कोशी प्रदेश सभा सदस्य ममता तामाङको प्रमुख आतिथ्यतामा आयोजित साहित्यिक कार्यक्रम चतरा साहित्यिक मञ्चको सहयोगमा गरिएको थियो ।

प्रमुख अतिथि सांसद तामाङले साहित्य साधकको समीपता ध्यान-योगसरह रहने बताइन् । क्लबले साहित्य र बौद्धिक क्षेत्रका कार्यक्रम आयोजना गरेकामा धन्यवाद व्यक्त गर्दै सहयोगको प्रतिबद्धता व्यक्त गरिन् ।

क्लबका अध्यक्ष युवराज भट्टराईको सभाध्यक्षतामा कार्यक्रम आयोजना गरिएको थियो ।