धरान । राष्ट्रिय प्रजातन्त्र पार्टी सुनसरी जिल्ला कार्यसमितिले आगामी चैत्र १६ गते हुने काठमाडौँकेन्द्रित आन्दोलनका विषयमा एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमका अतिथि पूर्वमन्त्री तथा केन्द्रीय निर्देशन समितिका सदस्य रामकुमार सुब्बाले सो आन्दोलनमा केन्द्रबाट सुनसरीका प्रतिनिधिहरूको उल्लेखित उपस्थिति रहने अपेक्षा गरिएको बताए । संसारमा ब्यालेट वा बुलेटबाट सत्ता परिवर्तन हुने भएकाले राप्रपा शान्तिपूर्ण आन्दोलनमार्फत् मुलुकको अवस्था परिवर्तनका लागि व्यवस्था परिवर्तन गर्न लागिपरेको बताए । उनले जनजनमा गणतन्त्र खारेजीको भावना पैदा भइसकेकोले गणतन्त्रवादीहरूको मुटुमा ढ्याङ्ग्रो बज्न थालेको बताए ।

अभिमुखीकरण केन्द्रीय प्रतिनिधि आजमल अन्सारीबाट भएको थियो । जिल्ला अध्यक्ष दुर्गाबहादुर बस्नेतको सभापतित्व र  कोषाध्यक्ष दीपक कार्कीको सञ्चालनमा भएको कार्यक्रमलाई केन्द्रीय सदस्य किशोरकुमार कार्की, जिल्ला सदस्य उद्धव श्रेष्ठ, किसान सङ्घ अध्यक्ष राजकुमार साह, जिल्ला उपाध्यक्ष गणेश गौतम, क्षेत्र नं. ४ अध्यक्ष टेकबहादुर घिमिरेलगायतले सम्बोधन गरेका थिए । कार्यक्रममा आन्दोलनका विषयमा जिल्ला प्रशिक्षण विभाग प्रमुख युग निरौलाले पनि प्रष्ट पारेका थिए ।