गत भदौदेखि जारी युएन नवोदय फुटसल च्याम्पियन्स लिगको उपाधि बिबिएस फ्याकल्टीले जितेको छ ।

फ्याकल्टी लिगबाट उत्कृष्ट १५ टिम सहभागी च्याम्पियन्स लिगमा बिएचएमलाई ३-१ गोलअन्तरले पराजित गर्दै बिबिएसले उपाधि चुमेको हो । बिबिएसको जितका लागि फाइनल खेलका म्यान अफ द म्याच निकल राईको उत्कृष्ट २ गोल र सुलभ श्रेष्ठको १ गोल सहायक बन्यो । उपविजेता बिएचएमका तर्फबाट शान लिम्बूले सान्त्वना गोल गरे ।

विजेता र उपविजेता टिमलाई कोशी प्रदेश फुटबल संघका उपाध्यक्ष कविराज तुम्बापो र युएन नवोदय कलेजका प्राचार्य डम्बर तुम्बापोलगायत फ्याकल्टिजहरुले ट्रफी र मेडल प्रदान गरेका थिए ।

च्याम्पियन्स लिग अघि फ्याकल्टी लिग विजेताहरु कक्षा ११ का तर्फबाट विजयी कक्षा ११ 'ए' र कक्षा १२ बाट कक्षा १२ 'एफ' लाई ट्रफी र मेडल प्रदान गरिएको थियो । त्यस्तै ब्याचलर लिग च्याम्पियन बनेको बिबिएसलाई समेत ट्रफी र मेडल प्रदान गरिएको थियो ।
फाइनल खेलका उत्कृष्ट गोल किपर बिबिएसका सुलभ राई, टप स्कोरर बिबिएसकै  दिपेन्द्र बस्नेत, बेस्ट प्लेयर अफ द लिग बिबिएसका कप्तान विश्वास मगर घोषित भए ।

फुटसल च्याम्पियन्स लिग धरान १६ स्थित अन्नपूर्ण लाइनमा रहेको बीबी फुटसलमा भएको थियो ।